काठमाडौ, १ भदौ । मलेसियामा जारी एसीसी यु–१६ प्रिमियर क्रिकेटको तेस्रो खेलमा नेपालले ओमानलाई १ सय २ रनले पराजित गरेको छ ।
रोयल सेलाङ्गोर क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले ओमानलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो । १ सय ६५ रनको विजय लक्ष्य पछ्याएको ओमानले मात्र २९ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ६२ रन जोडेपछि नेपालले फराकिलो जित दर्ता गरेको छ । ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका १३ वर्षीय किशोर अनिल खरेलले १६ रन खर्चिँदै ६ विकेट लिएका थिए । यस्तै, जितेन्द्र सिंहले ३ विकेट लिएका थिए ।
४९ रन जोड्दा ओमानले कुनै विकेट गुमाएको थिएन तर, थप १३ रन जोड्दा ओमानले सबै विकेट गुमायो ।
यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ६४ रन को योगफल तयार गरेको थियो ।
नेपालका लागि अलराउण्डर जितेन्द्र सिंहले अविजित ३२ रन जोडेका थिए । यता, ओमानका जोसेफले ३० रन खर्चिएर ३ विकेट लिए । जितेन्द्रले पहिलो खेलमा ५ तथा दोस्रो खेलमा ३ विकेट लिएका थिए ।
यसअघि नेपालले पहिलो खेलमा थाइल्याण्डलाई १० विकेट र दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो ।
नेपालले चौथो खेल सोमबार बहराइनसँग खेल्नेछ र अन्तिम खेल मलेसियासँग बुधबार खेल्नेछ ।