अमेरिकासँगको खेलमा नेपाल १० रनले विजयी

116
  •  
  •  
  •  

ICCकाठमाडौ, ११ कात्तिक(ओएनएस) : आइसीसी वर्ल्ड डिभिजन थ्री लिगको आफ्नो चौथो खेलमा नेपालले अमेरिकालाई डर्कवर्थ लुइसका आधारमा १० रनले पराजित गरेको छ । नेपालले २२ ओभर खेल्दा पानीले खेल रोकिएपछि डर्कवर्थ लुइसका आधारमा नेपाल १० रनले विजयी भएको हो ।

मलेसियाको किनरारा एकेडेमी ओभलमा २ सय २३ रनको लक्ष्यका साथ मैदान छिरेको नेपाली टोलीले २२ ओभरमा १ विकेट गुमाउँदै ७३ रन जोडेको थियो । तर, नेपाललाई डर्कवर्थ लुइसका आधारमा जीतका लागि मात्र ६३ रनको आवश्यकता भएका कारण नेपालले उक्त खेलमा जित हासिल गरेको हो । जीतसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ भने डिभिजन २ मा पुग्ने लगभग निश्चित भएको छ ।

नेपालका लागि सुवास खकुरेलले ४९ रन जोडेका थिए भने ज्ञानेन्द्र मल्लले २१ रन र नरेश बुढाएरले १ रन जोडेका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २३ रन जोडेको थियो । उसका लागि प्रारम्भिक ब्याटस्म्यान फहाड बाबरले ५९ रन जोडेका थिए भने पटेलले ३९ रन, टेलरले ३६ रन, कप्तान मसिहाले १६ रन र आदिल भाट्टीले १५ रन जोडेका थिए । अमेरिकालाई उक्त स्कोरमा समेट्नका लागि शक्ति गौचनले ३ विकेट लिएका थिए भने बसन्त रेग्मी र सागर पुनले समान २-२ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच अविजित ४९ रन जोडेका सुवास खकुरेल घोषित भएका छन् ।


  •  
  •  
  •