२०३० सम्म नेपाल आर्थिक रुपमा सम्पन्न मुलुक : प्रधानमन्त्री

471
  •  
  •  
  •  

काठमाडौँ, १५ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएपछि मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको बताएका छन् ।

एसियाली विकास बैंकको सहकार्यमा राष्ट्रिय योजना आयोगले सोमबार आयोजना गरेको ‘सन् २०३०: नेपालको परिकल्पना’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकार प्राप्तिको चरण समाप्त भएको र अब मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको बताए । प्रधानमन्त्रीले सन् २०३० सम्म नेपाललाई आर्थिक रुपमा सम्पन्न मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले समृद्धिका लागि सबैको साथ, सहयोग र सहकार्यको जरुरी रहेको र नेपालको अपार प्राकृतिक स्रोतसाधनलाई अधिकतम् उपयोग गर्नुपर्ने बताए । उनले २० वर्षे कृषि रणनीति कार्यान्वयनको चरणमा प्रवेश गरेको बताउँदै यसबाट देशको कृषि क्षेत्रमा उल्लेख परिवर्तन ल्याउने दावी गरेका छन् । उनले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित उर्जा संकट निवारण कार्ययोजना ल्याइएको र यसले देशको हितमा काम गर्ने बताए ।

प्रधानमन्त्री ओलीले एक वर्षभित्र विद्युतभार कटौती अन्त्य गर्ने र दुई वर्ष भित्र जलविद्युतबाटै पूर्णरूपमा विद्युत आपूर्ति गर्ने गरी कार्ययोजना बनाइएको बताए । सरकारले विकासमैत्री वातावरण बनाउन प्रयत्न गरेको र दीर्घकालीन विकास रणनीति लिएकाले देशले मुहार फेर्ने बताए ।

नेपालको कृषि, पर्यटन, जलविद्युत्, जडीबुटीमा लगानीको प्रशस्त सम्भावना रहेको भन्दै प्रधानमन्त्री ओलीले नयाँ संविधानले सबै वर्ग क्षेत्र, समुदायलाई अधिकारसम्पन्न बनाएकाले लगानी मैत्री वातावरण बनेको र एकाध वर्षभित्रै मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने बताए ।

आफूले हालै सम्पन्न गरेको दुई छिमेकी मुलुकको भ्रमणपछि द्विपक्षीय र बुहपक्षीय साझेदारीको प्रारम्भ भएको र विकासका लागिसमेत मार्गप्रशस्त भएको भन्दै उनले लगानीका लागि नेपाल स्वर्णभूमि रहेको स्पष्ट पारे ।

सडक, रेल सञ्जालको विकासमा सरकार लागिपरेको उल्लेख गर्दै विकासका लागि सम्पर्क नै महत्वपूर्ण विषय भएकाले भारत र चीन दुवै मुलुकसँगको सम्पर्क सञ्जाल विस्तारमा सरकार लागेको बताए ।


  •  
  •  
  •