नेपाल र पपुवा न्युगिजीको भिडन्त आज

167
  •  
  •  
  •  

काठमाडौँ, ३० कात्तिक(ओएनएस) : विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज सोमबार नेपाल र पपुवा न्यूगिनी भिड्दैछन् ।

यूएईको अबुधाबीमा सवा ११ बजेदेखी हुने खेलमा दुवै टीम जितको खोजीमा हुनेछन् । च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुवै टोलीले हार व्यहारेका कारण यी दुवै टोली जितको दवावमा परेका छन् । नेपाल स्कटल्याण्डसँग र पपुवा न्यूगिनी नेदरल्याण्ड्ससँग पराजित भएको थियो । च्याम्पियनसिपका ८ मध्ये ६ टीमले २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोट खेल्नेछन् ।

नेपालले आजको ओपनिङको भूमिका अनिल मण्डल र सुवास खकुरेलले सम्हाल्ने छन् । पछिल्लो समय राम्रो लयमा रहेका अनिल मण्डल र खकुरेलको जोडीले नेपालको इनिङलाई सम्हाल्ने अपेक्षा गरिएको छ । अनिलले पाकिस्तानविरूद्ध ६१ रन, हङकङसँगको दुइदिवसीय खेलमा अविजित ६४ रन र ४४ रन जोडेका थिए । उनलाई ओमानसँको खेलमा भने खेलाइएको थिएन ।

साथै ओमानसँगको खेलमा कप्तान पारस खड्काले ४९ र ज्ञानेन्द्र मल्लले ७१ रन जोडेका कारण पनि नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ ।

नेपालले तेस्रो नम्बरमा भने सागर पुनलाई खेलाउने तयारी गरेको छ । यसपछि ज्ञानेन्द्र मल्लले चौथो, पारस खड्काले पाँचौ र शरद भेष्वाकरले छैटौँ नम्बरमा ब्याटिङ गर्ने भएका छन् ।

यस्तै, बलिङमा सोमपाल कामी, करण केसी, शक्ति गौचन र बसन्त रेग्मी खेल्नेछन् । तर, सोमपाल चोटका कारण खेल्न सक्ने नसक्ने अन्यौल छ । सोमपालले खेल्न नसक्ने अवस्थामा आएमा पृथु बास्कोटा या इर्शाद अहमदमध्ये एकलाई खेलाउने सम्भावना रहेको छ । यता मेहबुब आलमले टोलीको सातौ नम्बर सम्हाल्नेछन् । उनी बलिङ र ब्याटिङ दुवै केही समय यता राम्रो लयमा देखिएका कारण आज उनको खेल पनि महत्वपुर्ण हुन्छ ।

नेपाल र पिएनजीले टि-२० खेलमा नियमित रूपले खेल्दै आएका छन् तर, एकदिवसीय खेलमा पनि यी दुई टोली १० वर्षपछि पहिलोपटक भिड्न लागेका हुन् । सन् २००५ मा भएको खेलमा नेपाललाई पिएनजीले ७० रनले पराजित गरेको थियो । त्यसबेलाको टोलीमा रहेका पारस खड्का, शक्ति गौचन र मेहबुब आलम मात्र अहिलेको टोलीमा छन् ।

नेपाल र पिएनजीले ४ पटक टि-२० खेलमा प्रतिष्पर्धा गरेका छन्, जसमा दुवै टोलीले २-२ वटा खेलमा जित हासिल गरेका छन् ।


  •  
  •  
  •