एसिसी प्रिमियर लिगमा नेपालको भिडन्त आज ओमानसँग

180
  •  
  •  
  •  

काठमाडौं २१ वैशाख (ओएनएस) :एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफनो तेस्रो खेल आइतबार ओमनको सामना गर्ने भएको छ । मलेसियामा हुने उक्त प्रतियोगितामा दुई खेल खेलेको नेपाल लगातार दुवैमा जित हासिल गर्दै चार अङ्कका साथ रनरेटका आधारमा दोस्रो स्थानमा छ ।
यस्तै समान खेल खेलेको अफगानिस्तान चार अङ्कका साथ लिगको पहिलो स्थान तथा समान खेल खेलको ओमन पनि चार अङ्कका साथ लिगको तेस्रो स्थानमा छन् ।  यस्तै  हङ्कङ, संयुक्त अरब इमिरेट्स (युएई) र  मलेसिया रनरेटका आधारमा क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । समान दुई दुई खेल खेलेका तीन टोलीले दुई खेलमा नै हार भोग्दै अङ्क जोड्न सकेका छैनन् ।
बिहीबार भएको पहिलो खेलमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा शुक्रबार आयोजक मलेसियालाई पाँच विकेटले पाखा लगाउँदै जित हासिल गरेको थियो । प्रतियोगितामा नेपालको लगातारको दोस्रो जितले आगामी डिसेम्बरमा युएइमा हुने एसिसी च्याम्पियनसिपका लागि लगभग छनोटसमेत भइसकेको छ ।
राउन्ड रोविन लिगका आधारमा हुने सो प्रतियोगितामा शीर्षस्थान हासिल गर्ने चार टोलीले एसिसी च्याम्पियनसिप खेल्न पाउनेछन् । यसअघि भएको अघिल्लो संस्करणको खेलमा नेपालले एसिसी एलिट कप प्रतियोगिताको उपाधि हासिल गरेको थियो । सन् २०१२ मा भएको एसिसी ट्रफी एलिट कप प्रतियोगिताको उत्कृष्ट छ टोली नेपालसहित हङकङ, अफगानिस्तान, ओमन, युएई र मलेसिया प्रतियोगितामा सहभागी छन् ।
एसियाली क्रिकेट परिषद् (एसिसी)को नयाँ संरचनाअनुसारको यो पहिलो प्रतियोगिता हो । सन् १९९६ देखि सुरु गरेको एसिसी ट्रफी इलिट कप प्रतियोगितालाई परिमार्जन गरी हाल एसिसीले एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको नयाँ नामकरण गरेको हो ।

  •  
  •  
  •