काठमाडौ, ९ माघ(ओएनएस) : नामिबियामा जारी आईसीसी विश्व लिग डिभिजन २ मा नेपालले आज लिगको अन्तिम खेल खेल्दैछ । आजको खेलमा जित हासिल गरेर नेपाल डिभिजन १ मा पुग्ने लक्ष्यमा छ भने केन्या आजको खेलमा जित हासिल गरेर आफ्नो रेलिगेशनको सम्भावनालाई केही कम गर्न चाहन्छ ।
आजको खेल दुवैका लागि गर या मरको स्थितिमा रहेको छ । नेपालले पराजय बेहोरे डिभिजन १ मा पुग्ने सम्भावनामा धक्का लाग्न सक्नेछ भने रेलिगेशनको संघारमा रहेको केन्या आजको खेलमा पराजय बेहोर्नु परे डिभिजन ३ मा घटुवा हुने निश्चित छ । हुन त आजको खेलमा नेपाललाई पराजित गरेपनि केन्याको अवस्था सहज भने छैन् । केन्याको स्थिति नेपालसँगको खेल जित्दा पनि गाह्रो नै छ ।
नेपाल र केन्याको क्रिकेटमा केही समानता छन् भने केही असमानता । नेपाल र केन्या दुवै देशको खेल प्रशासन आन्तरिक कलहमा फसेका छन् । तर, खेलको विकासमा भने नेपाल र केन्याबीच ठूलो असमानता छ । नेपालले क्रिकेटमा निरन्तर सफलता हात पारिरहेको छ भने केन्या क्रिकेटमा निरन्तर ओरालो लागिरहेको टोली हो । ५ पटकसम्म विश्वकप खेलेको र सन् २००३ मा सेमिफाइनलसम्म पुगेको टोली अहिले डिभिजन २ मा रहनका लागि पनि ठूलै संघर्षमा रहनुले पनि केन्याको खस्कँदो क्रिकेटलाई दर्शाउँछ ।
केन्याको क्रिकेट यसरी ओरालो लाग्नुमा त्यहाँको खेल प्रशासनको आन्तरिक कलह नै प्रमुख हो । आन्तरिक कलहका कारण नै केन्याको क्रिकेट निरन्तर ओरालो लाग्ने क्रममा छ र आजको खेलमा नेपालसँग पराजित भए केन्या डिभिजन ३ मा पुग्ने निश्चित छ । तर, नेपाली क्रिकेट भने आन्तरिक कलहलाई पाखा लगाउँदै सफलता हात पार्न सफल भइरहेको छ ।
डिभिजन २ मा केन्याको प्रदर्शन राम्रो हुन सकेको छैन् । केन्याले ४ खेलमा मात्र १ मा जित हासिल गर्दै रेलिगेसनको संघारमा उभिएको छ । आजको खेलमा नेपाललाई ठूलो अन्तरले पराजित गरेमात्र डिभिजन २ मा रहन सक्ने अवस्था छ । तर, नेपाली क्रिकेट टोलीले नामिबियामा जुन सफलता हासिल गरिरहेको त्यसले के देखाउँछ भने नेपाललाई जित्नका लागि केन्याले निकै कडा मेहेनत र धैर्यता आवश्यक पर्छ डिभिजन २ मा रहनका लागि हासिल गर्नुपर्ने ठूलो अन्तरको जित दर्ता गर्नु केन्याका लागि फलामको चिउरा चबाउनु जत्तिकै गाह्रो छ ।
यसअघिका खेलहरूको नतिजा हेर्ने हो भने नेपालले विश्वकप छनोटको अभ्यास खेलमा केन्यासँग एक मात्र एकदिवसीय खेल खेलेको छ, जुन औपचारिक खेल थिएन । उक्त खेलमा नेपाल केन्यासँग १ विकेटले पराजित भएको थियो । तर, ट्वान्टी-२० क्रिकेटमा भने नेपालले आफ्नो पक्षमा शतप्रतिशत नजिता हासिल गरेको छ । केन्यासँग भएका दुई ट्वान्टी-२० खेलमा नेपालले विजय हासिल गरेको छ । यसले पनि नेपाली टोली केन्यालाई पराजित गर्न सक्ने मानसिकताका साथमा मैदान उत्रने छ भने केन्या जित हासिल गर्नै पर्ने दवावका साथ मैदान छिर्ने छ ।
समूह चरणका चारमध्ये तीन खेल जितेर ६ अंकका साथ दोस्रो स्थानमा रहेको नेपालले केन्यामाथि विजय हासिल गरे सोझै डिभिजन १ को ढोका खोल्नेछ। पराजित भए अरू टिमको नतिजामा भर पर्नुपर्नेछ, जहाँ रनरेटले नेपालको भाग्य निर्धारण गर्नेछ।
समूह चरणका चार खेल समाप्तिमा आयोजक नामिबिया र नेपालको खातामा समान ६ अंक छ। रनरेटमा नामिबिया माथि छ। क्यानडा र नेदरल्यान्ड्सले समान दुई खेल जित्दै ४–४ अंक जोडेका छन्। क्यानडा रनरेटमा माथि रहँदै तेस्रो स्थानमा छ भने नेदरल्यान्ड्स चौथो स्थानमा। २ अंकमा सीमित केन्या र युगान्डा क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।
समूहको अन्तिम खेलमा शुक्रबार क्यानडाले नामिबिया र नेदरल्यान्ड्सले युगान्डासँग खेल्नेछ। प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन १ मा उक्लन्छन् भने तेस्रो र चौथो टोली डिभिजन २ मा कायम रहन्छन्। पुछारमा सीमित हुने दुई टोली डिभिजन ३ मा घटुवा हुने व्यवस्था छ ।
जिते के पाउँछ नेपालले ?
आजको खेलमा केन्यालाई पराजित गर्न सके नेपाल डिभिजन १ मा पुग्ने छ भने प्रथम श्रेणीको मान्यता पाएको अन्तरमहादेशीय चार दिवसीय खेल खेल्नका ढोका खोल्नेछ । यस्तै विश्व क्रिकेट च्याम्पियनसिप पनि खेल्न पाउने छ ।