चीनले नेपाललाई गर्ने सहयोग १३ अर्ब रुपैयाँ पुर्‍यायो

478
  •  
  •  
  •  

काठमाडौँ, ११ पुस (ओएनएस) :  चीनले नेपाललाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको सहायता रकममा ४३३ प्रतिशनले बृद्धि गर्दै १५ करोड चिनियाँ युआनबाट ८० कोरोडमा पुर्‍याएको छ । यो सहयोग १३ अर्ब ८ करोड रुपैयाँ बराबरको हुन्छ ।

नेपालको सामाजिक एवम् आर्थिक विकासमा सघाउनको लागि नेपाल र चीनबीच शुक्रबार भएको परराष्ट्रमन्त्रीस्तरीय वार्तामा चीनले अनुदानस्वरुप वार्षिक ८० करोड आरएमबी उपलब्ध गराउने सहमति जनाउनाका साथै नेपालको चौतर्फी विकासका लागि नौ क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
शुक्रबार भएको वार्तामा नेपालको तर्फबाट पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र चिनीयाँ विदेशमन्त्रि वाङ यी सहभागि थिए ।

वार्तामा नेपाल र चीनका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय संयन्त्रलाई सक्रिय तुल्याउन पनि सहमति जनाएका छन् । चीनले व्यापार, लगानी, पूर्वाधार, कृषि, पर्यटन, विज्ञान तथा प्रविधि, ऊर्जा, क्षमता अभिवृद्धि र सुरक्षा तथा कानुन कार्यान्वयनमा नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस निम्ति द्विपक्षीय, क्षेत्रीय र सहयोगसम्बन्धी परियोजना विकास गरेर अघि बढ्ने जनाएको छ ।

वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले सन् २०२२ सम्ममा अल्पविकसित मुलुकबाट विकासशील देशमा स्तरोन्नति हुन नेपालले निर्धारण गरेको लक्ष्य प्राप्तिका लागि स्तोसुकै सहयोग उपलब्ध गराउन तत्पर रहेको बताए ।

नेपालको राष्ट्रिय विकास सुनिश्चित गर्न चीनको सहयोग अपरिहार्य भएको बताउँदै उनले जलविद्युत् आयोजना निर्माण तथा विद्युत् उत्पादनमा सघाउने चीनको चाहना अभिव्यक्त गरे । जलविद्युत् विकास एवम् उत्पादनमा चीनको अनुभव, उच्च प्रविधियुक्त उपकरण, प्राविधिक ज्ञान र सीप नेपालको ऊर्जा उत्पादनका क्षेत्रमा अति उपयोगी हुने विचार व्यक्त गर्दै चिनियाँ विदेशमन्त्रीले आपसी लाभका धेरै क्षेत्रमा दुई मुलुकबीच सहयोग एवम् सहकार्य अभिवृद्धि गर्न सकिने बताए ।

नेपालको चौतर्फी उन्नयनका निम्ति सहकार्य गर्न पहिचान गरिएका नौ क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बत, त्यहाँको सरकार, स्थानीय कूटनीतिक नियोग र राष्ट्रिय तहबाट पनि सहयोग गरिने जानकारी दिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको मानव संसाधन विकास, सीप एवम् प्राविधिक ज्ञानयुक्त जनशक्ति निर्माणमा सुदृढ सहायता उपलब्ध गराइने बताए ।

Nepal China Meeting

एक पृथक प्रसङ्गमा उहाँले पछिल्ला दिनमा चीन र भारतसँगको सम्बन्ध सकारात्मक ढङ्गले अघि बढिरहेको तथा त्यो थप मजबुत एवम् घनीभूत हुँदै गएको बताउँदै चीन–भारत रणनीतिक, सहयोगात्मक र सहकार्ययुक्त सम्बन्धले भविष्यमा नयाँ उचाइ लिने विश्वास व्यक्त गरे ।

चीन र भारतले हासिल गरेको आर्थिक समृद्धिबाट सक्दो लाभ लिनेतर्फ नेपाल लाग्नुपर्ने सुझाव दिँदै उनले चीन र भारतका निम्ति नेपाल एउटा सक्षम सेतु बन्नसक्ने तर्क गरे । उनले भने “तीन वटै मुलुक मित्र हुन्, भारत र चीन मात्र होइन दक्षिण एसियाका लागि नेपाल सेतु बन्न सक्छ,”–। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सौहार्दपूर्ण वातावरणमा भएको वार्तामा पारस्परिक हितका साथै सहयोगका थप क्षेत्र पहिल्याउनेबारे छलफल भएको जानकारी दिए । वार्ता फलदायी रहेको बताउँदै उहाँले राजनीतिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायत नेपाल–चीन सम्बन्धका सबै विधामा विचारविमर्श भएको जानकारी दिए ।


  •  
  •  
  •