‘टेलिकमले प्रविधिअनुसार क्षमता वृद्धि गर्दै सेवा दिनु पर्ने ’

103
  •  
  •  
  •  

काठाडौं, ४ भदौं (ओएनएस) ; संचारमन्त्री डा मिनेन्द्र रिजालले परिवर्तित समयअनुसार टेलिकमले आफूलाई रुपान्तर गर्दै लैजानु पर्ने र प्रतिस्पर्धी क्षमता बढाउनु पर्नेमा जोड दिनु भएको छ । संचारमन्त्रीले संसदको विकास समितिको बैठकमा टेलिकमको अवस्था र क्षमता वृद्धिबारे छलफलमा यस्तो धारणा राख्नु भएको हो ।

मन्त्रीले सबैभन्दा ठुलो क्रान्ति नै प्रविधिमा भएकोले नयाँ प्रविधि अपनाउँदै टेलिकम अघि बढ्नु पर्ने बताए ।
उनले सूचना तथा संचारसँग सम्बन्धित विषय वस्तु सूचना तथा सञ्चार र विज्ञान मन्त्रालय अन्तर्गत रहेको भन्दै त्यसलाई एकै ठाउँमा ल्याउनु पर्ने बताए । बैठकमा विकास समिति सभापति रवीन्द्र अधिकारीले नेपाल टेलिकमसामू प्रतिस्पर्धा गर्दै जनताको सेवा गर्नुपर्ने दायित्व रहेको भन्दै क्षमता र सेवा दुवै विस्तार गर्नुपर्ने बताए । उनले टेलिकमको प्रतिस्पर्धी क्षमता विस्तारमा लाग्न संचार मन्त्रालय सम्बद्ध निकायलाई निर्देशन पनि दिएका छन् ।

बैठकमा सूचना तथा संचार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले गुणस्तरीय सेवा दिन नेपाल टेलिकम प्रतिबद्ध रहेको भन्दै कतिपय काम गर्न नीति तथा कानुनले रोकेको बताए । उनले सार्वजनिक खरीद ऐनमा भएका व्यवस्थाले काम गर्न कठिनाइ भएको गुनासो गरे ।
सभासद ढकालले टेलिकमले पनि अरुको सिको गरेर विद्युत प्राधिकरणको पोल भाडामा लिएर तार तन्काउँदा शहरी सौन्दर्य गुमेको भन्दै वैकल्पिक उपाय खोज्न आग्रह गरे ।

बैठकपछि समितिले टेलिकमको सेवा र गुणस्तर सुधार, नयाँ प्रविधिको सुरुवा गर्नेलगायतका विषयमा निर्देशन दिएको छ । समितिले ग्राहकलाई थप सुविधा बढाएर अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न टेलिकमलाई सुझाव दिएको छ ।


  •  
  •  
  •