नेपालले भने ‘म जित्छु’

178
  •  
  •  
  •  

काठमाडौं, ३१ असार (ओएनएस) । एमालेको राजधानीमा जारी महाधिवेशनमा अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले आफू जित्ने दावी गरेका छन् । १ हजार ३ सय ५ मत गणना हुँदा उनी अर्का प्रतिस्पर्धी केपी ओलीभन्दा ६५ मतले अगाडी छन् । मतगणना हुन बाँकी नारायाणी पश्चिमको मत छ ।

मतगणना भइरहेको दशरथ रंगशचालाबाट बाहिरेने क्रममा आज उनले सञ्चारकर्मीहरुसँगको छोटो प्रतिक्रियामा आफूले जित्ने दावी गरेका हुन् । उनले भने, ‘अहिलेसम्मको मतपरिणमबाट म ढुक्क छु, सबै केन्द्रीय सदस्यहरु तथा पदाधिकारीमा पनि हाम्रो अग्रता छ ।’

नेपालका मतगणना प्रतिनिधि रहेका बुधवार साप्ताहिकका सम्पादक बिष्णु रिजालले पनि गण्डकी र लुम्बिनीबाट ओलीले ७० मत भन्दा बढीले अग्रता लिए पनि नेपालले जित्ने दाबी गरे ।

यता केपी ओली पक्षले पनि आजको मतगणनामा ओलीले अग्रता लिँदै एक सय भन्दा बढी मतले जित्ने दाबी गरेको छ । ओली प्यानलका उपाध्यक्ष उम्मेदवार प्रदीप नेपालले नेतृत्व हस्तान्तरणको अभियानले विजय पाउन लागेको बताए ।

दुबै पक्षले आफू जित्ने दाबी गरेपनि एमालेको अध्यक्षमा कसले जित्ने भन्ने टुंगो ४ नम्बर बुथको गणनाबाट लाग्ने बताइएको छ। ४ नम्बर बुथमा ओली पक्षको पकड रहेको र यहाँको मतान्तरले कसले जित्छ भन्ने आंकल गरिने बताइएको छ । बुथ नम्बर ४ र ५ को जम्मा ८ सय ६४ मत गणना हुन बाँकी छ ।


  •  
  •  
  •