आजदेखी नेपाल सम्वत् ११३६, नेवार समुदाय म्हः पूजा गरिँदै

386
  •  
  •  
  •  

काठमाडौँ, २६ कात्तिक(ओएनएस) : नेपाल संवत् ११३६ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेपाल संवत ११३५ लाई बिदा गरी नयाँ संवतलाई स्वागत गर्दै नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३६ र इसं ८७९ अक्टोबर २० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गरेका थिए । काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखालगायतका स्थानमा नेवार समुदायको बाहुल्यता रहेकाले त्यँहा नेपाल संवतको उल्लास छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५५ सालमा सरकारले साख्वाःलाई राष्टिय विभूति घोषणा गरिसकेको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले ईसं ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराउनु भएको हो । बिहान काठमाडौँमा नेपाल संवतका अवसरमा र्‍याली निकालिदैछ । र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।

आजैको दिन नेवार समुदायमा मानिसको शरीर नै देवता हो भन्ने मान्यताका साथ म्हः पूजासमेत गरिन्छ । काठमाडौँ उपत्यकालगायत अन्य क्षेत्रमा बसोवास गर्ने नेवार समुदायले आज म्हः पूजा गर्दैछन् । साँझ घरमा परिवारका सबै व्यक्ति बसी म्हः पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन छ । म्हः पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ ।

आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।आगलागीबाट बचेको खुसियालीमा हाँडीगाउँ विशालनगरका बासिन्दाले यो प्रचलन सुरु गरेको पनि इतिहासकारले बताएका छन् । घरको मूलीले सबै सदस्यलाई सगुन दिई टीका लगाई दिने गरिन्छ र पूजा सम्पन्न भइसकेपछि भोज खानुपर्ने प्रचलन रहेको छ ।

आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । म्हः पूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदाया ठूलो पर्वको रूपमा लिने गरिन्छ । नेवारी भाषामा म्ह को अर्थ शरीर हो । तर म्हः पूजा अनिवार्य रूपमा गर्ने पर्ने भन्ने छैन ।


  •  
  •  
  •