सरकारद्वारा सीमाको अवरोध हटाउन भारतलाई औपचारिक आग्रह

206
  •  
  •  
  •  

काठमाडौँ, २३ कात्तिक(ओएनएस) : नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले सीमामा देखिएको पारवहन तथा आपूर्तिमा रहेको अवरोध हटाउनका लागि भारतसँग आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बैठकले अत्यावश्यकीय वस्तुको आपूर्ति सहज बनाउन र नेपाल भारतको सम्बन्धलाई सुदृढ बनाइराख्नका लागि सीमामा भएको अवरोध हटाउन भारतलाई आग्रह गरेको हो ।

बैठकले मधेसी मोर्चाले राखेका सबै माग पुरा भएको निष्कर्ष समेत निकालेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिएका छन् । उनले आन्दोलनका क्रममा पक्राउ परेका नेताकार्यकर्ताको मुद्धा फिर्ता लिएर हिरासतमा रहेका सबैलाई छाड्ने तयारी भइसकेको औपचारिक जानकारी मधेसी मोर्चालाई गराउने निर्णय गरेको समेत बताएका छन् ।

सरकारले आन्दोलनरत दलका अन्य मागका विषयमा यथोचित रुपमा निष्कर्ष र सहमतिमा पुग्ने प्रयास जारी रहेको भन्दै तिहार, छठ र ल्होसार जस्ताचाड–पर्व का मुखमा बन्द र सीमा–भन्सार धर्ना कार्य बन्द गरी जनताको जीवन सामान्य बनाउन तथा वार्ताको सहज वातावरण सिर्जना गर्न  आह्वान गरेको छ ।

बैठकले सरकार तराई र देश भरी नै  जनतामा परिरहेको मर्का र असुविधाप्रति अत्यन्तै दुःखित र चिन्तित रहेको भन्दै  संकटको घडिमा जनताबाट देखाइएको धैर्य, सदभाव र सदाशयताको प्रति आभार व्यक्त गरेको छ ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले एमाले पोलिटब्यूरो सदस्य समेत रहेका बिष्णु रिमाललाई प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त गरेको छ । साथै, प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार निरु पाललाई र अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा अर्थविद् गोविन्द नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।


  •  
  •  
  •