कुवेर मर्चेन्ट र ललितपुर फाइनान्स शर्तसहित समस्याग्रस्तबाट मुक्त

353
  •  
  •  
  •  

काठमााडैँ, २७ मंसिर (ओएनएस) : नेपाल राष्ट्र बैंकले कुवेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्सलाई समस्याग्रस्त संस्थाबाट शर्तसहित फुकुवा गरेको छ । राष्ट्र बैंकले यी दुई संस्थालाई छुट्टा छुट्टै निर्देशन दिँदै समस्याग्रस्त संस्थाबाट मुक्त गरेको हो । राष्ट्र बैंकले ३५ दिनभित्र पूँजी वृद्धि योजना पेश गर्न भनेको छ ।

राष्ट्र बैंकको नीतिगत व्यवस्था अनुसार चुक्ता पुँजी र पुँजी कोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेश गरेर संस्थालाई सुचारु गर्ने प्रतिबद्धता जाहेर गरेर सुधारोन्मुख अवस्थामा रहेको भन्दै शर्तसहित समस्याग्रस्तबाट फुकुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब यी दुई संस्थाले ०७६ मंसिरसम्ममा राष्ट्र बैंकले तोकको चुक्तापूँजी पुर्याउनु पर्नेछ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

केन्द्रीय बैंकले कुवेर मर्चेन्ट फाइनान्सलाई २०६८ पुस २३ गते र ललितपुर फाइनान्सलाई २०७१ चैत १६ गते समस्याग्रस्त घोषणा गरेको थियो । कुबेर मर्चेन्ट फाइनान्सले समस्याग्रस्तबाट उम्कन ६० प्रतिशत सेयर हिस्सा दिएर नयाँ लगानीकर्ता भित्र्याएको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार दुवै कम्पनीले तोकेको चुक्तापुँजी पुर्याउन पुँजी बृद्धि योजना ३५ दिन भित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ । खराब कर्जा घटाउँदै लगेर तोकिएको सिमा भित्र राख्नुपर्नेछ । संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन पनि चुस्त राख्नुपर्ने छ ।


  •  
  •  
  •