सुदूरपश्चिममा बैंकिङ साक्षरता न्यून : राष्ट्र बैंक

613
  •  
  •  
  •  

nepal rastra bank dhangadhiधनगढी, २८  माघ (ओएनएस) :  सुदूरपश्चिम क्षेत्रमा बैंकिङ साक्षरता दर न्यून रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कैलालीकाे चौमालामा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय धनगढीका निर्देशक विश्रुत थापाले कैलाली र कञ्चनपुरमा बैंकिङ साक्षरता दरमा सुधारान्मुख रहेको भए पनि पहाडी जिल्लामा भने अझै बैकिङ साक्षरता दर न्यून रहेको जानकारी दिएका हुन् ।

ग्रामीण भेगमा बैंकको पहुँच नभएकाले बैंकिङ साक्षरता दर न्यून रहेको उनले बताए । यस क्षेत्रमा कति बैकिङ साक्षरता दर रहेको छ भन्ने विषयमा अध्ययन नभए पनि समष्टिगत बैंक तथा वित्तीय संस्थाको तथ्यांक हेर्दा अझै पनि सर्वसाधारणहरुलाई बैंकिङ कारोबार गर्नुपर्छ भन्ने ज्ञान भने दिन नसकिएको थापाको भनाई छ । राष्ट्र बैंकका अनुसार यस क्षेत्रमा बैकिङ कारोबर गर्नेको संख्यामा बृद्धि हुँदै गए पनि अझै ग्रामीण क्षेत्रमा बैंकिङ कारोबार गर्नुपर्छ भन्ने बानीको विकास हुन सकेको छैन ।

राष्ट्र बैंकको समष्टिगत बैंक तथा वित्तीय संस्थाको तथ्यांक अनुसार यस क्षेत्रमा आर्थिक वर्ष २०७२ भन्दा आर्थिक वर्ष ०७३ मा २ दशमलब ९ प्रतिशतले निक्षेपमा बृद्धि भएको छ भने कर्जामा ६१ दशमलब ६४ प्रतिशतले बुद्धि भएको देखाईएको छ । यस क्षेत्रको समष्टिगत तथ्यांकमा बैंकिङ कारोबार गर्नेको संख्यामा बृद्धि भएको देखाईएको भएपनि जिल्लागत तहमा भने अझै चुनौति नै देखिएको राष्ट्र बैंक निर्देशक थापाले बताए ।

 सुदूरपश्चिम क्षेत्रमा बाजुरा र अछाममा बैंकिङ कारोबार न्यून हुने गरेको राष्ट्र बैंकको २०७३ असार मसान्तसम्मको जिल्लागत कर्जा तथा निक्षेपको अवस्थाले देखाएको छ । उक्त तथ्यांक अनुसार बाजुरामा ६७ करोड निक्षेप र २४ करोड कर्जा, अछाममा ७८ करोड निक्षेप र ४५ करोड कर्जा रहेको छ । सोही अनुसार बझाङमा ९६ करोड निक्षेप र २६ करोड कर्जा, बैतडीमा १ अर्ब ६३ करोड निक्षेप र ८२ लाख कर्जा रहेको उल्लेख छ ।

राष्ट्र बैंक निर्देशका थापाले ग्रामीण क्षेत्रमा बैंकिङ सेवा सञ्चालन नहुनु नै मुख्य समस्या रहेको बताए । उनले अहिले सर्वसाधारणलाई बैकिङ कारोवार गर्नुपर्छ भन्ने बानीको विकास गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नभएका क्षेत्रमा बैकिङ साक्षरता कक्षा सञ्चालन गरिरहेको बताए ।

राष्ट्र बैंकले आर्थिक वर्षको हालसम्म यस क्षेत्रका कैलाली, अछाम, बझाङ र डडेल्धुरा गरी ४ जिल्लामा साक्षरता कक्षा सञ्चालन गरिसकेको उनले जानकारी दिए ।

कैलालीमा मात्र ८४ वटा बैंक तथा वित्तीय संस्था छन्, भने सुदूरपश्चिममा २ सय ३ बैंक तथा वित्तीय संस्था रहेका छन् ।


  •  
  •  
  •