अरनिको राजमार्ग खुलाउन चीनले गरेको प्रस्ताव अस्वीकार

135
  •  
  •  
  •  

काठमाडौं २५ साउन (ओएनएस) :सिन्धुपाल्चोकको जुरे पहिरोले थुनिएको अरनिको राजमार्ग खुलाउन आफ्नो सेनाको प्राविधिक टोली पठाउन चीनले गरेको प्रस्तावलाई सरकारले अस्वीकार गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त कामका लागि कुनै पनि मुलुकको सहयोग नलिने निर्णय गर्दै चिनियाँ प्रस्ताव कूटनीतिक भाषामा अस्वीकार गरेको हो। मन्त्रिपरिषदले पहिरोस्थलमा बाटो खोल्ने र वैकल्पिक सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो  । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको आग्रहमा पहिरोग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा उद्धार तथा निर्माणका लागि छिमेकी मुलुक चीन र भारतलाई सहयोगका लागि पत्र पठाइएको विषयलाई सेनाले आपत्ति जनाएको थियो । आफैं सक्षम हुँदाहुँदै छिमेकीलाई हतारहतार सहयोगका लागि पत्र पठाइएकोमा सैनिक नेतृत्वबाट असहमति व्यक्त भएको मन्त्रिपरिषद स्रोतले बताएको छ । परराष्ट्र मन्त्रालयका काम सचिव शंकरदास बैरागीले आवश्यक परेमा प्राविधिक सहयोग उपलब्ध गराइदिन दुवै छिमेकीलाई पत्राचार गरिएको बताए । अन्नपूर्णपोस्टमा


  •  
  •  
  •