५१ वर्षपछि नेपालको जनसंख्या दोब्बर हुने

473
  •  
  •  
  •  

काठमाडौं, ८ पुस (ओएनएस) : नेपालको जनसंख्या  ५१ वर्षपछि  दोब्बर हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

पछिल्लो जनगणना अनुसार विगत छ दशकमा सबैभन्दा कम (१.३५ प्रतिशत) जनसङ्ख्या वृद्धिदर भएकोले यही जनसङ्ख्या कायम रहे नेपालको जनसङ्ख्या दोब्बर हुन ५१ वर्ष लाग्ने तथ्याङक विभागले आनुमान गरेको छ । राष्ट्रिय जनगणना २०६८ को समग्र तथ्याङ्क विश्लेषण गरेको ‘जनसङ्ख्या विस्तृत विवरण नेपाल २०१४’को मंगलबार सार्वजनिक गर्दै तथ्याङ्क विभागले यस्तो अनुमान गरेको हो ।

तथ्यांक विभागले २०६८ सालमा सार्वजनिक गरेको राष्ट्रिय अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । जसमा पुरुष भन्दा महिलाको संख्या झण्डै ८ लाखले बढी छ । अहिलेको अनुपातमा जनसंख्या बृद्धि भए विसं २१२० भित्रमा नेपालको जनसंख्या साढे पाँच करोड नाघ्ने छ ।

२०६८ को जनगणनाअनुसार नेपालको जन्मदर इतिहासमै कम पाइएको छ । विगत एक दशकमा प्रतिहजार जनसङ्ख्यामा २२ बच्चा हरेक वर्ष थपिएको र प्रतिहजार जनसङ्ख्यामा सात जनाको मात्रै मृत्यु भएको देखिन्छ ।

विभागकाअनुसार प्रति महिला हाल २.५२ जना बच्चा जन्मिएको देखिन्छ । यो जन्मदर ग्रामीण र सहरी क्षेत्रमा भिन्नभिन्न देखिन्छ । सहरी क्षेत्रमा एउटी महिलाले औसतमा दुई वटाभन्दा कम सन्तान जन्माएको देखिन्छ भने ग्रामीण क्षेत्रमा करिब तीन बच्चा जन्माएको देखिन्छ । विवाह गर्ने औसत उमेरमा वृद्धि भएको, धेरै युवा विदेशिएका कारण जन्मदरमा कमी आएको विभागको भनाइ छ ।

नेपालीको औसत आयु ६७ वर्ष पुगेको छ भने भक्तपुर, ललितपुर, कास्की, काठमाडौँ र चितवनमा जन्मेका बच्चाको आयु धेरै र मध्यपश्चिमका पहाड र मध्य तराईमा औसत आयु कम रहेको पाइएको छ ।

साक्षरता, घरमा चर्पीको व्यवस्था, इन्धन, विद्युतको प्रयोग आदिको सन्दर्भमा सहरी र ग्रामीण क्षेत्र एवम् विकास क्षेत्रमा भिन्नता देखिन्छ । मध्यपश्चिमको हिमाल, पहाड एवम् मध्य तराईको समग्र आर्थिक सामाजिक अवस्था सापेक्षतामा कमजोर रहेको छ ।

विसं २०२८ को जनगणनामा आधारित रहेर २०३३ सालमा पहिलोपटक मोनोग्राफ तयार पारिएको थियो ।

सरकारी तथ्याङ्कअनुसार करिब ७० लाख युवा विदेशमा रहेको पाइएपनि विभागको पछिल्लो जनगणनामा १९ लाख मात्रै बाहिर रहेको भन्ने तथ्याङ्क गलत भएको विभागले जनाएको छ ।


  •  
  •  
  •