प्रहरीको अनौठो प्रस्तावः चोरलाई अन्य पेसामा पुनर्स्थापना

152
  •  
  •  
  •  

Nepal_Police_काठमाडौं ३० चैत ।
अनेक उपाय अपनाउँदा पनि काठमाडौंमा चोरीका घटना नियन्त्रण गर्न नसकेपछि काठमाडौंको प्रहरीले चोरलाई अन्य पेसामा पुनर्स्थापनाको प्रस्ताव गरेको छ। चोरीलाई स्थायी पेसा बनाउँदै आएकालाई सुधार्न उसले पुनर्स्थापना अवधारणा ल्याएको हो।

जति पटक पक्राउ परे पनि तत्काल धरौटीमा छुट्ने कानुनी सुविधा र चोरीबाहेक अन्य पेसा नहुँदा चोरी घटना नियन्त्रण कठिन भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम कार्कीले उनीहरुलाई अन्य पेसामा पुनस्र्थापन गर्न प्रस्ताव गरेका हुन्। काठमाडौंका प्रत्येक वृत्तको हिरासतमा ५० जनाभन्दा बढी चोरी घटनामा संलग्न रहेको आरोपमा हिरासतमा रहने गरे पनि चोरी घटाउन नसकेको कार्कीले बताए । चोरीमा संलग्न भएवापतको कानुनी सजाय न्यून हुँदा उनीहरु पक्राउ परेर धरौटीमा छुटेपछि पुनः चोरीमै संलग्न हुने गरेको उनले बताए।

‘पक्राउ परेकाहरु बाहिर आएपछि पेसा बदल्ने भन्दा पनि चोरी प्रक्रिया बदल्न बढी सक्रिय देखिए,’ आर्थिक वर्ष २०७१–०७१ को आपराधिक अवस्था सार्वजनिक गर्दै कार्कीले भने । कार्कीका अनुसार काठमाडौंमा करिब एक हजार जना चोरीमा सक्रिय छन् । महानगरीय प्रहरी कार्यालयका अनुसार गत असारदेखि चैत २८ सम्म उपत्यकामा ३ सय ८० चोरीका घटना भएका छन् । गत वर्ष करिब ३ वटा चोरीका घटना भएका थिए ।

काठमाडौं परिसरले आइतबार सार्वजनिक गरेको अपराध तथ्यांकले काठमाडौंमा चोरीसँगै बलात्कार घटनासमेत बढेको देखाएको छ । गत वर्ष ६३ वटा बलात्कार घटना प्रहरीसम्म आइपुगेकामा यस वर्षको चैतसम्ममा ६८ घटना प्रहरीमा आए । एसएसपी कार्कीले बलात्कार घटना बढ्नुको कारण पनि उल्लेख गरे । कार्कीका अनुसार काठमाडौंमा बिहे नगरी सँगै बस्ने प्रवृत्ति, सानै उमेरमा प्रेमीप्रेमिका बनाउने क्रम बढ्नु र वैदेशिक रोजगारी क्रममा पुरुष बाहिरिँदा बढेको विवाहेत्तर सम्बन्धका कारण बलात्कार घटना बढेको देखिएको हो ।

‘विवाह नगरी सँगै बस्छन्, सम्बन्ध बिग्रेपछि युवतीहरु बलात्कार भयो भन्दै प्रहरीमा उजुरी दिन आउँछन्,’ कार्कीले परिसरले आयोजना गरेको कार्यक्रममा भने, ‘सानै उमेरमा प्रेम गर्ने अनि शारीरिक सम्बन्ध राख्छन्, जब परिवारले थाहा पाउँछन् अनि प्रहरीमा बलात्कारको उजुरी दिन्छन् ।’ १६ वर्षमुनि सहमतिमै यौनसम्बन्ध राखे पनि उजुरी परेको हकमा कानुनअनुसार सो बलात्कार ठहरिँदा उजुरी आए प्रहरीले सोहीअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाउने उनले बताए । वैदेशिक रोजगारी क्रममा श्रीमान बाहिर भएका महिलाले अन्य पुरुषसँग सम्बन्ध राख्ने र सोको पोल खुले जोगिन बलात्कार भएको दाबी गर्ने घटनासमेत बढेको उनको दाबी छ ।

एसएसपी कार्कीका अनुसार दर्ता भएको मुद्दा संख्यामा कमी आए पनि यो वर्ष डकैती, विद्युतीय कारोबार, ठगी, लागुऔषधका घटनासमेत बढेका छन् । उनका अनुसार गत वर्ष काठमाडौं परिसरले ४ हजार २ सय ४६ वटा मुद्दा दर्ता भएकामा यस वर्ष ३ हजार ७ सय १० वटा घटना दर्ता भएका छन् ।

परिसरका अनुसार यस वर्ष काठमाडौंमा २० वटा हत्या, ११ वटा अपहरण, १० वटा डाँका, ९ वटा अबैध हातहतियार, १६ वटा विद्युतिय कारोवार, १०६ वटा ठगी, २१ वटा बैंकिङ कसुर, १ सय ३९ वटा लागुऔषधका घटना दर्ता भएका छन् । बेवारिसे शब, सवारी ज्यान, आत्महत्या लगायतका विविध मुद्धाको संख्या ३ हजार २ सय २ छन् ।

एसएसपी कार्कीले आगामी वर्षहरुमा विद्युतिय कारोवार सम्बन्धी अपराध थप बढ्ने विश्लेशण गरे । सूचना प्रविधिको बढ्दो पहुँच र प्रभावसँगै प्रयोगकर्ताहरुमा कुन–कुन घटनामा उजुरी लाग्छ भन्ने चेतना बढ्नाले विद्युतिय कारोवार सम्बन्धी घटना बढ्ने उनले बताए ।

एसएसपी कार्कीका अनुसार यस वर्ष काठमाडौंमा १६ वटा हत्या घटना भएकोमा १४ वटाको अनुसन्धान सफल भयो । २०७१ कात्तिक १ मा काठमाडौंको सेतिदेबी– ६ मा रहेको कुष्ठरोग आरोग्य आश्रममा २३ वर्षिय सुनमाया किसान र चावहिल गंगाहिटीमा आयुष गोर्खालीको हत्यामा संलग्नहरु भने पक्राउ परेका छैनन् । अनुसन्धानमा सुनमायाको हत्या उनको मामाको छोरा सम्मर बहादुर सार्कीले घाटी थिचीँ हत्या गरेको र गोर्खालीलाई राजेन्द्र पाण्डे समेतका ब्यक्तिले हत्या गरेको खुले पनि पक्राउ परेका छैनन् ।

उपराष्ट्रपतिको सवारी बढी

काठमाडौं प्रहरीले सवारी चलाएको संख्याका आधारमा राष्ट्रप्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीभन्दा उपराष्ट्रपतिको सवारी संख्या उच्च छ । संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले काम गर्छन् । पारिवारिक कार्यक्रम र सामान्य धार्मिक कार्यक्रममा समेत अतिथि बन्न स्वीकृति दिँदा राष्ट्रपति र प्रधानमन्त्रीको भन्दा झन्डै दोब्बर सवारी उपराष्ट्रपतिको चल्यो ।

एक वर्ष अवधिमा प्रहरीले काठमाडौंमा राष्ट्रपति रामवरण यादवको ५१ वटा सवारी चलाएको थियो । प्रधानमन्त्री सुशील कोइरालाको ८६ वटा सवारी चलाएको प्रहरीले उपराष्ट्रपति परमानन्द झाको १ सय ४६ वटा सवारी चलाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र सार्क शिखर सम्मेलनको सुरक्षा प्रवन्धलाई प्रहरीले उच्च सफलताको कोटीमा राखेको छ ।

१२४ पुरस्कृत, ३६ कारबाहीमा

काठमाडौं परिसरका अनुसार एक वर्ष अवधिमा काठमाडौंमा क्रियाशील २ हजार ५ सय ८२ प्रहरीमध्ये ३६ जना कारबाहीमा परे । एसएसपी कार्कीका अनुसार आर्थिक अनुशासन विपरीत काम गर्ने १० जना र पक्राउ आरोपीलाई यातना दिएको देखिएका विभिन्न तहका ९ जना प्रहरी कारबाहीमा परे ।

कार्कीले परिसरले आर्थिक अनुशासन र यातनाविरुद्ध शून्य सहनशीलताको नीति लिँदै यस्ता घटनामा संलग्नमाथि कारबाही गरिएको बताए । कारबाहीमा परेका १७ जनाको कारण भने उनले खुलाएनन् । एक वर्ष अवधिमा परिसर मातहतका १ सय २४ प्रहरी पुरस्कृत भए ।
नागरिकबाट


  •  
  •  
  •