काठमाडौं, २१ असाेज (ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले सत्तारुढ दल नेकपाका नेताहरु अहिले पतनको बाटोमा अग्रसर रहेको आरोप लगाएका छन् ।
शनिबार नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान आयोजित कार्यक्रममा नेता पौडेलले यस्ताे आरोप लगाए ।
समितिका सभापति भीमबहादुर थापाको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले भने,‘अहिले सत्तारुढ दल नेकपाका नेताहरु पतनको बाटोमा छन् । सरकारले अहिलेसम्म एउटापनि राम्रो काम गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले चुनावमा घोषणा गरेका प्रतिबद्धताबमोजिम कुनैपनि काम गर्न सक्नुभएन ।’ प्रधानमन्त्री ओलीले अहिलेसम्म सम्झनलायक एउटापनि राम्रो काम गर्न नसकेको उनको आरोप छ । उनले भने,‘मेलम्ची खानेपानी परियोजनापनि हाम्रै पालामा भएको हो । नारायणघाट–मुग्लिन सडक खण्डको स्तरोन्नती हाम्रै पालामा भएको हो । यो सरकारले के नयाँ काम गरेको छ र ?’
वर्तमान सरकारले चीन र भारतबाट रेल ल्याउने भनेर चर्चामात्रै गरेको सुनाउँदै उनले भने,‘भाषण गरेरमात्रै रेल आउँदैन् । रेल ल्याउने प्राविधिक पक्ष, लागतलगायत अन्य विषयमा कुनैपनि छलफल तथा अध्ययन भएको छैन् ।’ सरकारले बिना टेण्डर र बिना सूचना बुढीगण्डकी जलविद्युत परियोजना एकलौटी रुपमा चिनियाँ कम्पनीलाई दिएको भन्दै पौडेलले कडा आपत्ति जनाए । उनले भने,‘प्रधानमन्त्रीलाई यो अधिकार कसले दियो ?’
उनले थपे,‘नेकपाभित्रै यतिवेला प्रधानमन्त्रीको कामकारबाही र कदमलाई लिएर माधव नेपाल पक्षले गम्भिर कुरा उठाएको छ । नेकपाभित्र अहिले विद्रोहको स्थिति सिर्जना भएको छ ।’ त्यस्तै उनले कोशीमा पानीको गहिराइ नभएकोले कसरी पानीजहाज चल्छ भन्दै उनले प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरे । नेता पौडेलले ३३ केजी सुन प्रकरण कोट्याउँदै भने,‘यो सुनकाण्ड कहाँ पुग्यो ? सिण्डिकेटको चर्चा सेलायो ।’
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण उल्लेख गर्दै उनले भने,‘सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्ने कुरा साँचो हौईन, खोज्न नसकेर होईन, नचाहेर नखोजेको हो । राज्य अपराधीलाई संरक्षण गर्न चाहन्छ । यस्ता कुराले राज्यमा विद्रोह पैदा गर्छ ।’