नेतृत्व चयनको लागि निर्वाचनको माग
विराटनगर, २३ वैशाख (ओएनएस) : केन्द्रीय समिति चयनको लागि निर्वाचनको माग गर्दै एमाओवादीको जारी राष्ट्रिय सम्मेलनमा नाराबाजीसहित हस्ताक्षर संकलन अभियान सुरु भएको छ ।
पूर्वएमाओवादी सभासद् चन्द्रबहादुर थापाको नेतृत्वमा हस्ताक्षर संकलन सुरु भएको हो । अहिलेसम्म झण्डै ३ सय बढी प्रतिनिधिको हस्ताक्षर संकलन भएको सम्मेलन स्थलबाट एक नेताले जानकारी दिए । सम्मेलनमा १ हजार चार जना प्रतिनिधि सहभागी छन् ।
सम्मेलन स्थलमा नारावाजी र हस्ताक्षर संकलन भइरहँदा स्वागतम होटलमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरिरहेका छन् ।
शीर्ष नेता सम्मिलित आयोजक समिति र केन्द्रीय कार्यालयको पटकपटक बसेको बैठकले समेत नेतृत्व चयनमा सहमति जुटाउन सकेको छैन । सम्मेलन आयोजक समितिले ९९ सदस्यीय केन्द्रीय समितिको नाम छान्दा प्रचण्ड पक्षका नेताहरु मात्रै रहेको भन्दै भट्टराई र श्रेष्ठ पक्षधरले विरोध गरेका छन् ।