नेपालमा पनि चक्रवात ‘फानी’ को प्रभाव देखिन थाल्यो

542
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख(ओएनएस) : बंगालको खाडीमा बनेको चक्रवात ‘फानी’को प्रभाव नेपालमा समेत देखिन थालेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभाव विस्तारै बढ्दै जाने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ ।

चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन् ।

यस्तै अहिले रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारिरहेको प्रणाली पनि पूर्वतिर सरिरहेको महाशाखाले जनाएको छ ।
देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद् विभूति पोख्रेलले बताएका छन् ।
पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना रहेको उनले बताए ।
फानीको प्रभाव पर्सि दिउँसोसम्म नै पर्ने महाशाखाले जनाएको छ ।

यस्तो छ मौसम पूर्वानुमान

चक्रवात “फानी” हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै अवस्थित छ | आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओड़ीसा को तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने (Landfall) सम्भावना देखिन्छ | Landfall पश्चात यो प्रणाली फेरी उत्तर-पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ |
उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार ) मौसम  प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन/चट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने  सम्भावना रहको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ । साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपात को सम्भावना रहेको छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।

  •  
  •  
  •