बैंककमा नेपाल महोत्सव सम्पन्न

199
  •  
  •  
  •  

बैंकक, १५ बैशाख(ओएनएस) : थाइल्यान्डको राजधानी बैंककमा नेपाल महोत्सव सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ थाइल्यान्ड र बैंककस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा भएको महोत्सवको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेल, थाइल्यान्डका संस्कृतिमन्त्री वीरा रोज्पोन्चनरा र पर्यटन तथा खेलकुद उपमन्त्री चाबानी चंग्रोचले संयुक्त रूपमा गरेका थिए ।

महोत्सवमा नेपाली कला र संस्कृतिसँग सम्बन्धित १८ वटा स्टल राखिएको थियो । बैकक शहरको केन्द्रमा रहेको मल ‘सेन्ट्रल वर्ल्ड’मा भएको महोत्सवमा संकलित रकम एनआरएनएले नेपालका भूकम्पपीडितका लागि घोषणा गरेको ‘एक हजार घर’ योजनामा सहयोग गरिने एनआरएनए थाइल्याण्डले जनाएको छ ।

उद्घाटन कार्यक्रममा पर्यटनमन्त्री पोखरेल र थाई संस्कृतिमन्त्री वीराले बुद्ध धर्मले नेपाल र थाइल्याण्डलाई जोडेको उल्लेख गर्दै दुवै देशका जनताबीच सुमधुर सम्बन्ध रहेको बताएका थिए ।

उद्घाटन कार्यक्रममा कूटनीतिक नियोगका प्रतिनिधिहरु, थाई मुभी स्टारहरु, सगरमाथा आरोहीहरु, विभिन्न युनिभर्सिटीका पदाधिकारीहरु, थाइल्यान्डका व्यापारिक घरानाहरु तथा एनआरएनएका विभिन्न देशका प्रतिनिधिहरु उपस्थित थिए । महोत्सवमा लुम्बिनी विकास कोषले लुम्बिनीको विशेष प्रदर्शन गरेको थियो ।


  •  
  •  
  •