काठमाडौ, १६ असोज(ओएनएस) : एक महिनाअघि मात्र साफ यु-१९ को उपाधी जित्न सफल भएको नेपाली टोलीले एएफसी यु-१९ च्याम्पियनसीप २०१६ को छनोट प्रतियोगितामा लज्जास्पद पराजय बेहोरेको छ । घरेलु मैदानमा इरानले नेपाललाई १०-० गोलअन्तरले पराजित गरेको हो ।
गयराती सम्पन्न खेलमा इरानले खेलको पहिलो हाफमा ५ र दोस्रो हाफमा पनि ५ गोल गर्दै नेपाललाई बिर्सनलायक पराजय चखाएको छ ।
मसादस्थित सामेन अल आमेह स्टेडियममा भएको खेलको पहिलो मिनेटमा नै नेपालले दुई गोल खाएको थियो । यसपछि पनि नेपालको खेल सम्हालिएन र खेलको पहिलो हाफमा ५ गोल खान पुग्यो भने नेपालले कुनै उत्कृष्ट मुभ बनाउन सकेन ।
समूह ई मा रहेको नेपाललाई खेलमा फर्कनका लागि अझै दुई वटा खेल खेल्न बाँकी छ । नेपालले आइतबार कुवेतसँग र मंगलबार जोर्डनसँग खेल्नेछ । प्रतियोगिताका समूह विजेता १० टोली तथा उपविजेता उत्कृष्ट ५ टोलीले आगामी वर्ष बहराइनमा हुने यु-१९ एएफसी च्याम्पियनसीपमा खेल्ने अवसर पाउनेछन् ।