नेपालको विश्वकप खेल्ने सपना सपनामै सिमित

470
  •  
  •  
  •  

काठमाडौ, २६ भदौ : एएफसी यु-१६ च्याम्यिनसिप अन्तर्गत थाइल्याण्डमा जारी समूह चरणको तेस्रो खेलमा नेपाल पराजित भएको छ । उत्तर कोरियासँग पराजित भएपछि वर्ल्ड कप खेल्ने सपनामा नै सिमित भएको छ । आज भएको खेलमा नेपाल उत्तर कोरियासँग ४-१ गोलअन्तरले पराजित भएको हो ।

खेलको चौथो मिनेटमा नै गोल खाएको नेपालले खेलमा फर्कन सकेन । पहिलो हाफको २२ औ मिनेटमा अर्को गोल गर्दै उत्तर कोरियाले नेपाललाई दवावमा राख्न सफल भयो । यसको ५ मिनेटपछि नेपालका अनन्त तामाङले गोल गर्दै नेपाललाई केही हौसला प्रदान गरेपनि उक्त गोल भएको १ मिनेटमा नै गोल गर्दै कोरियाले नेपाललाई स्तब्ध बनायो । पहिलो हाफको इन्जुरी टाइममा अर्को गोल गर्दै कोरियाले आफ्नो जितलाई लगभग सुनिश्चित बनायो ।

दोस्रो हाफको खेलमा कुनै गोल हुन सकेन र खेलमा कोरियाले ४-१ को जित दर्ता गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गर्यो । नेपालका स्ट्राइकर तथा कप्तान विमल घर्ती मगरले पाएका केही मौकालाई गोलमा परिणत गर्न नसक्दा नेपालको हार निश्चित भएको थियो ।

क्वार्टर फाइनलमा पुग्न नेपालले कोरियासँग कम्तिमा पनि बराबरी खेल्नुपर्ने थियो ।

यसअघि २४ भदौमा भएको खेलमा नेपालले कुवेतलाई २–१ को अन्तरले हराएको थियो भने त्यसअघि उजबेकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।


  •  
  •  
  •