अभ्यास खेलमा नेपाल फराकिलो अन्तरले पराजित

126
  •  
  •  
  •  

काठमाडौं, २२ असार (ओएनएस) :  ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको छनोट प्रतियोगिता अघि भएको अभ्यास खेलमा नेपाल पराजित भएको छ । खराब ब्याटिङको नमुना प्रस्तुत गरेपछि नेपाललाई यूएईले मंगलबार  ८ विकेटको फराकिलो अन्तरले  पराजित गरेको हो ।

आयरल्याण्डमा भएको खेलमा नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएकव यूएईले १४ अोभर खेल्दा  ८१ रन बनाउँदा २ विकेट मात्पार गुमाएको थियो । त्यसपछि खेलमा वर्षाले प्रभावित हुँदा खेल यूएइले डकवर्थ लुविस मेडथमा जित्यो । यूएईको जीतमा अम्जद अली २३ र उमैर अली १६ रनमा अविजित रहे । यस्तै  यूएई फैजान आसीफले २४ रन जोडे भने मोहमद शाहजादले १३ रनको योगदान गरे । बलिङ्गतर्फ नेपालका जितेन्द्र मुखिया र सागर पुनले एक एक विकेट लिए ।

त्यसअघि  वर्षाले प्रभावित भएको खेलमा नेपालले निर्धारित १८ ‌ओभरमा ७ विकेट गुमाएर ८४ रन बनायो । नेपालको लागि शरद भेषवाकारले सबैभन्दा बढि नटआउट ३८ रन जोडे भने सोमपाल कामी ७ रनमा अविजित रहे ।  यस्तै प्रदिप एरीले १३ रनको योगदान गरे । त्यसअघि ओपनर सुबास खकुरेल र सागर पुन एक–एक रन बनाएर आउट हुँदा नेपालको इनिङ्ग सुरुआत देखि नै धर्मराएको थियो ।

यस्तै ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए भने कप्तान पारस खड्का ५ रनमा पेभिलियन फर्के । राजेश पुलामी १ रनमा आउट हुँदा बिनोद भण्डारीले खाता नै खोल्न सकेनन् । बलिङ्गतर्फ मन्जुला ग्रुजले ३ र मोहमद साजादले २ विकेट लिए ।

यसअघि ओमानबिरुद्धको अभ्यास खेल वर्षाको कारण रद्द भएको थियो।

जुलाई ९ देखि २६ मा हुने छनोट प्रतियोगिता आयरल्याण्ड र स्कटल्याण्डले संयुक्तरुपमा सञ्चालन गर्दैछन् । समूह एमा नेपालसहित आयरल्याण्ड, हङकङ, पपुवा न्युगिनी, नामिबिया, अमेरिका र जर्सी छन् । समूह ‘बी’ मा अफगानिस्तान, यूएई, नेदरल्याण्डस, स्कटल्याण्ड, क्यानडा, केन्या र ओमान रहेका छन् ।

नेपालले पहिलो खेल अमेरिकासँग १० जुलाईमा खेल्नेछ । यस्तै नेपालले ११ जुलाईमा नामिबिया, १३ जुलाईमा आयरल्याण्ड, १५ जुलाईमा हङकङ, १७ जुलाईमा पपुवा न्युगिनी, १८ जुलाईमा जर्सीसँग प्रतिस्पर्धा गर्नेछन् ।

आफ्नो समूहमा शीर्ष हुने दुई टिम स्वत छनोट हुनेछन् भने दोस्रो, तेस्रो र चौथो हुने टिमले अघिल्लो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।


  •  
  •  
  •