नेपालको बेलायत भ्रमण हारबाट सुरुआत

192
  •  
  •  
  •  

Traning paras
बेलायतमा अभ्यासको क्रममा नेपाली टीम । तस्विर : पारस खड्काको फेसबुकबाट

काठमाडौं, १० असार (ओएनएस) : बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टीम पहिलो अभ्यास खेलमा पराजित भएको छ । बिहिबार बेलायती क्लब मिडिलसेक्ससँग खेलमा नेपाल १४ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मिडेल सेक्सले आक्रमक सुरुआत गरेको थियो । उसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रन जोड्यो । ओपरन सी स्टीललाई सोमपाल कामीले १५ रनमा बोल्ड गरेपछि मिडिसेक्सले दोस्रो विकेटको लागि १११ रनको साझेदारी गरेको थियो । मिडिलसेक्सको लागि कप्तान ए बलब्रिनले ७२ रन जोडे । उनीलाई जितेन्द्र मुखियाले रनआउट गरे । यस्तै आर हिगिङ्ग्सले ३८ र डेक्चरले ८ रन जोडे । दुबैको विकेट जितेन्द्रले लिए ।

१६५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन मात्र जोड्न सक्यो । नेपालको लागि ओपनर सुवास खकुरेलले ४६ रन जोडे । उनका जोडी सागर पुन भने शून्य रनमै पेभिलियन फर्केका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३० बलमा ४१ रन जोड्दा कप्तान पारसले पनि खाता खोल्न सकेनन् ।

शरद भेषावकरले २३ बलमा ३२ रन जोडे भने प्रदीप ऐरी शून्य रनमा रनआउटको शिकार बने । राजेश पुलामी १७ रनमा नटआउट रहे । बलिङतर्फ पटेलले ३ विकेट लिए ।

एक साता बेलायत बसाइको क्रममा नेपालले अब तीन अभ्यास खेल खेल्नेछ । त्यसपछि चार ट्वान्टी–ट्वान्टी सिरिज खेल्न नेदरल्यान्ड्स जानेछ । लगत्तै आयरल्याण्ड र स्कटल्याण्डमा हुने ट्वान्टी–ट्वान्टी विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ ।


  •  
  •  
  •