नेपाल नबन्नुको जिम्मेवार को ?

229
  •  
  •  
  •  

डा. टीकाराम पोखरेल

एउटा बहस चलेको छ– ‘नेपाल किन बन्न सकेन ?’ आउटलाइन मिडियाको सक्रियतामा प्रारम्भ भएकोे यो बहसलाई अगाडि बढाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् पत्रकारद्वय सुशील शर्मा र सुधीर शर्माले । विषयको उठान जति रोचक छ, बहसको श्रृङ्खला त्यत्तिकै गम्भीर मात्र छैन रोमाञ्चक पनि छ । सुशील शर्माको लेखबाट प्रवेश गरिएकोे यो बहसमा धेरै ‘फलोअर’हरु भैसकेका छन् । ‘फलोअर’का ‘फलोअर’ पनि छन् । त्यही ‘फलोअर’को ‘फलोअर’ हुने क्रममा म पनि यो बहसमा जोडिन पुगेको छु । क्षमताले भ्याएसम्म यस विषयमा आएका विचारहरुलाई नजिकबाट नियाल्ने प्रयास पनि गररहेको छु । सिद्धान्तका कसीदेखि व्यवहारका तराजुसम्मको तर्कवितर्क दिने क्रममा नेपाल यो कारणले बनेन र ऊ कारणले बनेन भन्ने विचारको थुप्रो लागिसकेको छ र बढ्नेक्रम जारी छ ।

नेपाल किन बनेन, कसले बन्न दिएन र कसरी बन्छ र यी प्रश्न अति नै गहन छन् । निष्कर्षविहिन बहसको थालनी गर्नु हुँदैन भन्नेहरुका दृष्टिमा प्रश्नहरु जति बेकार लाग्दछन् हरेक कुराको निकास हुन्छ भन्नेका दृष्टिमा प्रश्न त्यत्तिकै महत्वपूर्ण पनि लाग्दछन् । किन बनेन एउटा महत्वपूर्ण प्रश्न हो, नबन्नुको दोषी को भन्ने झनै महत्वपूर्ण प्रश्न हो र कसरी बन्छ भन्ने त अझ अति नै महत्वपूर्ण अर्को प्रश्न हो । त्यसैले यी प्रश्नहरुको उत्तर फरक फरक चाहिन्छ । नबन्नुको दोषी को हो त्यो नै किन बनेन भन्ने प्रश्नको उत्तर हुँदैन न त कसरी बन्छ भन्ने कुरा नै किन बनेनको उत्तर हुन सक्ला । नबनेको हिजो हो बन्ने भोलि हो । हिजो जे जे कारणले नेपाल बनेन आज त्यही कारणहरुको निराकरणले मात्र नेपाल बन्दैन । हिजो नेपाल नबन्नुका कारण साना थिए आज ठूला भैसके, हुन सक्तछ अझै नेपाल बनाउने अभियानमा लागिएन भने ती काराणहरु अझ विकराल हुन सक्तछन् । घाउको उपचार सानैमा गरेको भए सानो औषधीले हुने थियो तर ठूलो भैसकेपछि ठूलै उपचार चाहिन्छ, विकराल नै भैसकेपछि त औषधीले पनि काम गर्दैन ।

नेपाल बन्न नसके पनि नेपाल कसरी बनाउने भन्ने सन्दर्भमा विचारको ओइरो लागेको देख्दा भने नेपाललाई गरिब नै भन्नु नपर्ने हो कि जस्तो देखिन्छ । नेपालले पनि विचारको महासागरमा पानी थप्न सक्तछ भन्ने कुरा नेपाल किन बन्न सकेन भन्ने सन्दर्भका विचारहरुले पुष्टि गरेको छ । संसार विचारको महासागर हो । जहाँ जाति धेरै विचार आउँछन् त्यो समाज त्यति नै धनी मानिन्छ । फेरि विचारविज्ञान यस्तो विज्ञान हो जो विचारहरु चाहे ती विपरीतधु्रवी नै किन नहुन् आफैँमा भने सत्य हुन्छन् । मात्र विचारकले जुन दृष्टिले विचार राख्छ हेर्ने र बुझ्नेले पनि त्यही दृष्टिले हेर्नु र बुझ्नु पर्दछ । महात्मा गान्धीले भनेका छन्– तिम्रा लागि त्यही सत्य हो जुन तिमी देख्छौ । यस दृष्टिमा नेपाल किन बनेन भन्ने सन्दर्भमा आएका जे जति विचारहरु छन् ती विचारहरु आफैँमा सत्य छन् । तर विचारणीय कुरा चाहिँ के हो भने देश बनाउने यति धेरै विचार भएर पनि किन ती कामयावी भएनन् । किन ती विचारहरु नेपाल बनाउने कुरामा फिट हुन सकेनन् । कतै फिट हुँदैनन् भने ती विचार के शब्दजाल मात्र हुन् त ? शब्दजाल मात्र त अवश्य होइनन्, बरु बोक्रा सहितका गुदी हुन् कि ?

नेपाल किन बनेन भन्ने सन्दर्भको बहस चाहिँ बोक्राको होइन गुदीको खोजी हो । सत्यमाथि पनि परमसत्यको खोजी हो । परमसत्यतामा पुगेपछि नै देश नबन्नुको सही कारण भेटिन्छ । रामायणमा हनुमानसम्बद्ध कथा छ– लक्ष्मण युद्धमा घाइते भएपश्चात् रामले बुटी खोजी ल्याउन हनुमानलाई अह््राए । बुटी चिन्न नसकेका हनुमानले बुटी भएको पहाड नै ल्याएर रामका अगाडि राखिदिए । आखिर बुटी रामले नै पहिचान गर्नुप¥यो । नेपाल किन बनेन भन्ने सन्दर्भको बहसमा पनि जे जति विचार आएका छन् ती हनुमानका पहाड बनेर आएका छन् । विचारको एकमुष्ट गर्ने हो भने यो एउटा पहाड हो तर त्यहाँ बुटी छ । मात्र पहिचान गर्न सक्नु पर्दछ ।
नेपाल किन बनेन भन्ने प्रश्नमा केही पूरक प्रश्नहरु अवश्य आउँछन् । नेपाल आफैँ बन्न नसकेको हो कि अरुले बन्न नदिएको हो । बन्न नदिएको हो भने त्यो बन्न नदिने को ? के बन्न नदिने शक्तिलाई मात्र निस्तेज पार्ने हो भने नेपाल आफँै बन्छ त ? जस्ता बहसका बीचमा नेपाल किन बनेनको बहस अगाडि बढिरहेको छ । अहिलेसम्म मूलतः बहस कसरी बन्छ भन्दा पनि किन बनेनमै केन्द्रित छ । बन्न नदिने पात्र, प्रवृत्ति र परिस्थितिलाई औल्याउने काम पनि हुँदै नभएको होइन । तर बन्न नसक्नुको कारण र बन्न नदिनेको खोजी जति व्यापक बनेको छ बनाउन सक्नेको खोजी भने त्यति ब्यापक हुन सकेको छैन ।

कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भन्ने नेपाली उखान नै छ । जो जुन कित्तामा छन् तिनले त्यही कित्तामा बसेर बुद्धि प्रक्षेपण गर्दछन् । यो बहसको सन्दर्भ पनि यसबाट अछुतो छैन । महिलाहरु भन्छन्– महिलाहरुलाई पछाडि पारिएकाले नेपाल बनेन, दलितहरु दाबी गर्छन्– नेपाल नबन्नुको प्रमुख कारण नै जातिय विभेद हो । आदिबासी जनजातिका विचारमा आदिबासी समुदायलाई मूलधारबाट बाहिर पारिनु नै नेपाल नबन्नुको प्रमुख कारण हो । लेखक, पत्रकार, शिक्षाविद्, डाक्टर, इञ्जिनियर प्रश्न गर्छन्– विद्वत् वर्गसँग सल्लाह नलिए पछि कसरी नेपाल बन्छ ? मजदूर भन्छन्– मजदूर र मालिक बीचको खाडल नै नेपाल नबन्नुको प्रमुख कारण हो, उद्योगपति भन्छन् उद्योगधन्दाको वातावरण घुमिल हुँदा देश बिग्रियो । अर्थविद् भन्छन्– आर्थिक क्रान्ति नै भएन, सर्वसाधारण भन्छन् शब्दमा क्रान्तिका कुराले देश बन्दैन । विद्यार्थी भन्छन्– अल्छी प्राध्यापकले देश विगारे, प्राध्यापक भन्छन्– अराजक विद्यार्थीले देशलाई समेत पछारे । राजनीतिज्ञ भन्छन्– जनता जिम्मेवार हुन सकेनन्, जनता भन्छन्– नेपाल नबन्नुको एकमात्र कारण राजनीतिक दल र दलका नेता मात्र हुन् ।

नेपाल नबन्नुको कारणका रुपमा आएका पहाड विचारमध्येका केही विचार यिनै हुन् । यी दाबीहरुमध्ये कुन चाहिँ दाबीलाई ठीक होइन भन्ने ? सब दाबी आआप्mना ठाउँमा ठीक छन् । तर प्रश्न कहाँनेर छ भने महिला दलित र जनजातिलाई पछि पार्ने, विद्वत् वर्गका कुरा नसुन्ने, मजदुर र मालिक बीच खाडल खन्ने, औद्योगिक वातावरण घुमिल बनाउने, आर्थिक क्रान्ति नगर्ने, प्राध्यापकलाई अल्छी र विद्यार्थीलाई अराजक बनाउने, जनतालाई जिम्मेवार नबनाउने, नेतालाई देश बिगार्न दिने चाहिँ को ? ‘ऊ’ ? ‘ऊ’ हो भने अनि त्यो ‘ऊ’ भन्ने पात्र चाहिँ को हो नि ? के त्यो ‘ऊ’ भित्र मचाहिँ पर्दिन ?

नेपालीहरुका केही मौलिक विशेषताहरु छन् । अरुको कुरा काट्ने, अरुलाई दोष दिने, असन्तुष्टि व्यक्त गर्ने, हरेक कुरालाई नकारात्मक ठाउँमा लगेर टुंग्याउने जस्ता गुण नेपालीका पहिचानसँग जोडिन पुगेका छन् । त्यसमा पनि दोष शतप्रतिशत अरुलाई दिने र जस जति शतप्रतिशत आफ्नो भनी दाबी प्रस्तुत गर्ने प्रवृत्ति आमनेपालीको रोगको रुपमा मौलाउँदै जान थालेको छ । नेपाल किन बनेन भन्ने सन्दर्भमा पनि जे जति विचारहरु आएका छन् त्यसमा मूलतः दोषी अरुलाई नै देखाउन खोजिएको छ । तर त्यो ऊ वा अरुभित्र आफूलाई पनि समाहित गर्ने साहस कसैले पनि गरेको छैन । दोषी हामी हौँ भन्नेसम्मका अपवाद देखिए पनि ‘म’लाई दोषबाट उन्मुक्ति दिने प्रयास प्राय सबै विचारकहरुबाट भएको छ ।

अपजस अरुको भागमा र जस आफ्नो भागमा अंशवण्डा गरेर नेपाल कहिल्यै बन्दैन । त्यसैले अपजसको जिम्मेवारी आफू लिने र जस अरुलाई दिने संस्कृतिको विकास हुनुपर्दछ । म एकजनाले गरेर के हुन्छ र ? भन्ने लघुताभाष र जिम्मेवारीबाट पञ्छिने रोग नै नेपाल नबन्नुको मूल जड हो । मूल जरोलाई छोडेर हाँगा र पाततिर दौडिएर कसरी नेपाल बन्ला ? अब देश बनाउने हो भने ‘ऊ’ बाट बन्ने आसा गर्ने होइन ‘म’बाट बनाउन सुरु हुनुृपर्दछ । मेरो शौचालयदेखि लिएर बेड, कोठा, घर, टोल, जिल्ला, क्षेत्र र देश अरु कसैले बनाएर बन्दैन मैले बनाए मात्र बन्छ । त्यसैले देश नबन्नुको प्रमुख जिम्मेवार ‘म’ र ‘म’जस्तै हरेक ‘म’हरु हुन्, ‘ऊ’हरु होइनन् ।


  •  
  •  
  •