काठमाडौं २४ पुस ।
पर्यटन र बिजनेस भिसामा नेपाल आएर आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकलाई सरकारले निष्कासन गरेको छ । एक वर्षमा ९४ जना विदेशी नागरिक निष्कासित भएका छन् ।
अध्यागमन विभागका अनुसार सन् २०१४ मा विभिन्न २८ देशका नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । सबैभन्दा धेरै निष्कासित हुनेमा चिनियाँ, इराकी र सिरियन रहेको विभागका महानिर्देशक सुदर्शन ढकालले बताए ।
एक वर्षमा १६ जना चिनियाँ, १५ जना इरानी तथा १५ जना सिरियन नागरिक नेपालबाट निष्कासित भएको विभागले जनाएको छ । १६ जना मध्ये १० जना नक्कली पासपार्ट, तीनजना भीओआईपी सम्बन्धी अपराध, दुई जना वनसम्बन्धी अपराध र एकजना कर्तब्य ज्यान मुद्दामा पक्राउ परि निष्कासन गरिएका हुन् ।
नक्कली राहदानीसहित पक्राउ पर्ने चिनियाँ सबैजसो तिब्बती शरणार्थी भएको अध्यागमन अधिकारीहरु बताउँछन् । निष्कासनमा परेका १५ इराकी र १५ सिरियन नागरिक सबै नक्कली पासपोर्टसहित पक्राउ परि निष्कासित भएका हुन् । निष्कासनमा बंगलादेशका आठ जना परेका छन् । ती मध्इे चारजनाले नेपाल आउन नक्कली पासपोर्ट प्रयोग गरेका थिए भने तीन जना नक्कली भारतीय रुपैंयाँको कारोबारमा संलग्न रहेको विभागले जनाएको छ ।
नयाँपत्रिकाबाट