नेपाल ‘एक चीन’ नीतिप्रति कटिबद्ध : प्रधानमन्त्री

178
  •  
  •  
  •  

काठमाडौँ, ९ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले एक चीन नीतिप्रति नेपाल पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमी चीनविरुद्ध प्रयोग गर्न नदिने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा आयोजित ‘वान बेल्ट–वान रोड इनिसिएटिभ्स’ को सन्दर्भमा दुई मुलुकबीचको सम्बन्धबारे एक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सम्बन्ध ‘पञ्चशील’ सिद्धान्तमा आधारित रहेको उल्लेख गरे ।

दुई देशको मित्रता सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको संवेदनशीलताप्रतिको आदरबाट निर्देशित रहेको उनले बताएका छन् । उनले चीनले नेपालको विकास प्रयासलाई सघाउँदै आएको तथा सुख र दुःखमा साथ दिएको बताएका छन् । चिनियाँ कम्पनीहरूले गरेको लगानी, व्यापारिक सम्बन्ध र प्राविधिक सहयोगले नेपालको विकासमा गति आएको बताउँदै चीनले नेपालको विकासका लागि थप आर्थिक सहयोग गर्नुपर्ने भनाई व्यक्त गरेका छन् ।

नेपाल सरकार कृषिलाई आधुनिकीकरण गर्न प्रतिबद्ध रहेको बताउँदै उनले जलस्रोतको अधिकतम प्रयोग गर्न र उद्योगलाई आवश्यक उर्जा उत्पादन गर्न कटिबद्ध रहेको उनको भनाई छ । उनले लगानीका लागि नेपाली बजार खुला रहेको समेत बताए ।

सन् २०१५ मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको हीरक जयन्ती मनाइएको स्मरण गर्दै उनले विगतका मित्रतापूर्ण वर्ष र दशकहरुमा सँगै मिलेर अवसरहरू पहिल्याएको, साझा आकाङ्क्षालाई मूर्त रुप दिन प्रतिबद्धता व्यक्त गरेको र खाँचो परेका बेला सहयोग आदानप्रदान गरेको पनि स्मरण गरे ।


  •  
  •  
  •