मलेसियामा ‘नेपाल लगानी सम्मेलन‘

116
  •  
  •  
  •  

काठमाडौं १२ माघ (ओएनएस) : नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्यले मलेसिया मा ‘नेपाल लगानी सम्मेलन’ आयोजना गर्न लागिएको छ ।

मंगलबार पुलमन, बंगसर, कुआला लम्पुर मा हुन लागेको उक्त सम्मेलनमा शहरी विकास मंत्री डा नारायण खड्का,  राष्ट्रिय योजना आयोग का उपाध्यक्ष डा गोविन्दराज पोख्रेल लगायत का वरिष्ठ नेपाली अधिकारी हरुले सम्बोधन गर्ने कार्यक्रम छ  । त्यसै गरी मलेसियाको कन्फेक्स हबको तर्फबाट दातुक डा अब्दुल अजिज एस ए कादिर एवम् काठमाडौँ स्थित  फुलब्राइट कन्सल्टेन्सीका अध्यक्ष लालकृष्ण केसी आयोजक समितिका सहअध्यक्ष् हुनुहुन्छ ।

नेपाल सरकार तथा मलेसिया स्थित नेपाली राजदूतावासको सक्रिय समर्थन रहेको सो सम्मेलन लाई इन्डिपेन्डेन्ट पावर प्रड्युसर्स नेपाल (इपान),  सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन), कन्स्ट्रक्सन इन्डस्ट्री डेभलपमेन्ट बोर्ड (सिआइडिबी), मलेसिया र  मलेसिया नेपाल बिजनेस काउन्सिलले अनुमोदन गरेका छन् ।

उक्त सम्मेलन मा खास गरी निम्न विषयहरुमा छलफल केन्द्रित रहने छ:

  • नेपाल सरकारले आर्थिक प्राथमिकता तोकेका क्षेत्रहरु तथा बजारको अवसर
  • नेपालको उर्जा, सडक, रेल, विमानस्थल, व्यापारिक तथा आवासीय क्षेत्र एवं लगानीका सम्भावनाहरु
  • नेपाल सरकारको उर्जा, यातायात पूर्वाधार, आवासीय तथा सामाजिक पूर्वाधार विकास योजनाहरु
  • प्रत्यक्ष वैदेशिक लगानी नीति
  • कानूनी, कर तथा सहुलियतका ढाँचाहरु
  • जलविद्युत गृह लगायत उर्जा तथा पूर्वाधार परियोजनाहरुका लागि वित्तिय विकल्प हरु , एवम्
  • सम्भाव्य आयोजनाहरु तथा स्वामित्व प्रक्रिया ।

उक्त सम्मेलनको सफलताको कामना गर्दै पठाउनु भएको सन्देशमा प्रधानमन्त्री सुशील कोइरालाले नेपाल अहिले शान्ति, स्थायित्व, प्रजातन्त्र र विकासको बाटोमा अघि बढी रहेको बताउनु भयो ।  उहाँले नेपालको आर्थिक वृद्धि तथा रोजगारी सिर्जनाका लागि पूर्वाधारमा लगानीको व्यापक सम्भावना रहेको बताउँदै विदेशी लगानीकर्ताहरुलाई सहजीकरण गर्न नेपाल सरकार तयार रहेको पनि जनाउनुभयो।

नेपाल लगानी सम्मेलन २०१५ आयोजक समिति का अध्यक्ष दातुक डा अब्दुल अजिजले नेपाल विकासको अपार सम्भावना भएको तथा दोहन  गर्न बाँकी रहेका स्रोतहरुले भरिएको मुलुक भएको बताउनु भयो  । नेपाल सरकारले व्यापार मैत्री  वातावरण बनाउनका लागि थुप्रै करहरुमा छुट दिनुका साथै अरु सहुलियतहरु पनि दिएको छ, उहाँले भन्नु भयो  ।

आयोजक समितिका सहअध्यक्ष् लालकृष्ण केसीले यो सम्मेलनले सम्भाव्य लगानीकर्ताहरुलाई नेपालमा लगानी तथा विकासका महत्वपूर्ण विषयहरुबारे जानकारी दिने बताउनु भयो  । सम्मेलनमा सम्भाव्य लगानीकर्ताहरुले नेपालका नीतिनिर्माताहरु, वरिष्ठ विशेषज्ञहरु तथा नेपाली लगानीकर्ताहरुसंग भेटघाट गरेर लाभ लिन सक्ने पनि उहाँले जानकारी दिनुभयो  ।

सहअध्यक्ष् केसीले नेपाल लगानी सम्मेलन २०१५ मलेसियामा सम्भाव्य लगानीकर्ताहरु तथा सम्वद्ध निकायहरुलाई एकै ठाउँमा ल्याएर गरिएको पहिलो यस्तो सम्मेलन भएको बताउँदै सहभागीहरुलाई सम्भाव्य आयोजनाहरु तथा स्वामित्व प्रक्रियाकाबारेमा पनि जानकारी दिईने  बताउनु भयो ।

आयोजकहरुका अनुसार मलेसिया तथा त्यसक्षेत्र का झन्डै २०० सहभागीहरुले सम्मेलनमा भाग लिने अपेक्षा गरिएको छ ।  सम्मेलन बारे  http://www.nepalinvestmentsummit.com  मा गएर थप जानकारी प्राप्त गर्न सकिन्छ।

यसैगरी “नेपालमा  लगानी  गरौ” श्रृंखला अन्तर्गत काठमाडौँमा  ९–१० जुन २०१५ मा नेपाल उर्जा सम्मेलन तथा ४– ५  अगष्ट  २०१५ मा नेपाल यातायात तथा पूर्वाधार सम्मेलन आयोजना गरिने आयोजकहरुले जनाएका छन्  ।


  •  
  •  
  •