प्रबुद्ध समूहले थाल्यो अनौपचारिक छलफल

97
  •  
  •  
  •  

काठमाडौं १७ माघ ।
सरकारले तीन दिनअघि गठन गरेको विज्ञहरु सम्मिलित ‘प्रबुद्ध समूह’ले अनौपचारिक छलफल सुरु गरेको छ । सरकारले सचिवालयको व्यवस्था गरेपछि औपचारिकरुपमा काम थाल्ने समितिका एक सदस्य एमाले सांसद राजन भट्टराईले जानकारी दिए । ‘अनौपचारिक छलफलमात्रै सुरु गरेका छौं,’ भट्टराईले कान्तिपुरसित शनिबार भने, ‘छिटोभन्दा छिटो काम सुरु गर्न तत्पर छौं ।’

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारतबीचको सम्बन्ध पुनरावलोकनका लागि विज्ञहरू सम्मिलित ‘प्रबुद्ध समूह’ गठन गरेको थियो । दुई मुलुकबीच सम्बन्ध चिसिइरहेका बेला मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो समूह गठन गरेको थियो ।

समूहमा भारतका लागि नेपालका पूर्वराजदूत डा. भेषबहादुर थापा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वकानुनमन्त्री नीलाम्बर आचार्य र एमाले सांसद तथा परराष्ट्र मामिला जानकार डा। राजन भट्टराई छन् ।

भट्टराईले समूहले १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धीसहित सबै सहमति र सम्झौताको अध्ययन गरेर सरकारलाई राय सुझाव दिने बताए । समूहको कार्यकाल दुई वर्षको हुनेछ । ‘नेपालभन्दा एक वर्षअघि १९४९ मा भूटानसँग गरेको यस्तै खाले सन्धी २००७ मा नै परिमार्जन भएको छ,’ उनले भने, ‘नेपालसँग गरिएका कतिपय सन्धी सम्झौताहरु पनि पुनरावलोकन गर्नुपर्ने छ, हाम्रो ध्यान त्यतातिर पनि छ ।’

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ मा भारत भ्रमण गरेका बेला १९५० को सन्धि पुनरावलोकन लगायतको विषय उठाएका थिए । त्यसपछि बहसमा नआएको सन्धी पुनरावलोकनको विषय गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा औपचारिक सहमति भएको थियो । भारतले भने यसअघि नै चार सदस्यीय प्रबुद्ध समूह बनाउने प्रस्ताव गरेको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •