राष्ट्रपतिको भ्रमण स्थगन र राजदूत फिर्ताको असर ईपीजीमा

116
  •  
  •  
  •  

काठमडौं ११ जेठ ।
नेपाल र भारतका कार्यकारी प्रमुख स्तरमा औपचारिक सहमति भएको डेढ वर्षपछि बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त बैठक अझै बस्न सकेको छैन । यसबाट यसको औचित्य र कार्यमाथि आशंका उत्पन्न भएको छ । नेपाल र भारतबीच रहेका सन्धि सम्झौतादेखि सबै खाले सम्बन्धको पुनरावलोकन र समीक्षाका लागि सुझाव दिन दुवै देशका तर्फबाट ईपीजी गठन गरिएका थिए । तर गठनको चार महिनामा पनि औपचारिक संयुक्त बैठक बस्न सकेको छैन । समूह बनेको तीन महिनामा दुई पक्षीय बैठक बस्ने भनिएको थियो । दुई वर्षभित्र सबै अध्ययन गरेर सुझाव दिइसक्नुपर्ने ईपीजीको संयुक्त कार्यादेशमा उल्लेख छ ।

ईपीजीलाई नेपाली पक्षले जोड गरेको भए पनि पछिल्लो समय उत्पन्न दुईपक्षीय सम्बन्धका कारण भारतले बेवास्ता गरिदिँदा ओझेलमा परेको अधिकारीहरूले बताए । दुई देशबीचको सम्बन्धमा चिसोपना बढदै जाँदा ईपीजी पनि त्यसको मारमा परेको उनीहरूको भनाइ छ । कतिपय आन्तरिक कारण र सरकारी निकायबाट निस्कने अभिव्यक्तिले पनि सम्बन्धमा चिसोपना ल्याइदिएको छ भने कतिपय कूटनीतिक हर्कतले एकअर्कामा टाढा बनाएको र यसलाई सपार्न निकै मेहनत गर्न परेको परराष्ट्र अधिकारीहरू बताउँछन् । ‘सम्बन्ध सपार्दै गयो, अनि के–के भनेर बिगार्दै जान्छन्, अनि फेरि सुरु गर्नुपर्ने हुन्छ,’ एक अधिकारीले भने, ‘उताबाट पनि कहिलेकाहीं यस्तै प्रकारको काम हुने हुनाले पनि समस्या दोहोरो नै छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमण अन्तिम समयमा रोकिनु, राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइनु जस्ता कार्यमा नेपालले देखाएको आलोकाँचो कूटनीतिको प्रभाव ईपीजीमा परेको सदस्यले नै स्विकारेका छन् । ‘हाम्रोतर्फबाट कामहरू भइरहेका छन । तर, भारतीय पक्षले नै चासो देखाएको छैन,’ ईपीजीका एक सदस्यले भने, ‘हामीले मे महिनामा संयुक्त बैठकका लागि प्रस्ताव राखेका थियो । तर भारतले केही ढिला हुने जानकारी गराएको छ ।’

परराष्ट्रमन्त्री स्तरबाट नै बैठकका लागि प्रस्ताव गएपछि भारतीय पक्ष सुरुमा सकारात्मक थियो । तर पछिल्ला दिनमा विकसित घटनाक्रमले सबै कार्य ओझेलमा परेको ती सदस्यको धारणा छ । भारतले अहिले सम्पर्क गर्ने व्यक्तिमा इन्स्टिच्युट अफ डिफेन्स स्टडिजका (आईडीएसए) का कार्यक्रम अधिकारी राजोर्सी रोयलाई तोकेको छ । नेपालले भने यसअघि नै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका निर्देशक रहेका यादव खनाललाई रिर्सोस पर्सनका रूपमा तोकिसकेको छ ।

परराष्ट्र मन्त्रालय उच्चस्रोतका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्रीको सम्भावित भारत भ्रमणपछि मात्र ईपीजीको दुईपक्षीय बैठक हुने सम्भावना छ । यद्यपि नेपाली पक्षले बैठकका लागि पहल जारी राखेका छन् । अन्यथा यो अहिले आन्तरिक रूपमा अध्ययन गर्ने एक समूहमात्र जस्तो भएको छ । नेपाली पक्षले आन्तरिक अध्ययन पूरा गरिसकेको छ ।
नेपाली पक्षले नारायणहिटीमा आफ्नो कार्यालय राखेर काम थालिसकेको छ । ईपीजीका संयोजक पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा भन्छन्, ‘हामी काम गरिरहेका छांै । अब संयुक्त बैठक बसेर काम अघि बढाउने हो । हाम्रो तहमा पनि केही कामहरू अझै गर्न बाँकी छ । भारतले फोकल पर्सन तोकिसकेको छ । अब सम्पर्कमा रहेर काम अघि बढ्नेछ ।’
कान्तिपुरबाट


  •  
  •  
  •