काठमाडौँ, २२ फागुन(ओएनएस) : भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीले नेपालको संविधान एक प्रतिशत भन्दा कम विषयमात्र मिल्न बाँकी रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा नेता सिंहले नेपालका सबै नेताहरूसँग कुरा गर्दा सीमांकनको विवाद चाँडै मिल्छ भनेको बताए । उनले भने, ‘संविधानमा १ प्रतिसत भन्दा थोरै विषय मिल्न बाँकी छ । मेरो नेपालका सबै नेताहरुसँग कुराकानी भएको छ । अलिकति सीमांकनको विवाद मात्रै हो । मिल्छ भन्नु भएको छ । मलाई विश्वास छ छिट्टै त्यो विषय मिल्छ र नेपालको संविधान कार्यान्वयनका सबै समस्या समाधान भएर जान्छन । संविधान बनाएकोमा नेपाली नेताहरुलाई धन्यबाद छ । ’
उनले नेपालमा संविधान कार्यान्वयन भएर नेपाल समृद्धिको दिशामा अघि बढ्ने विश्वास ब्यक्त गरे । उनले संविधान संसोधनपछि राजनीतिमा सबै माग जायज नहुने भएकोले जायज मागको पहिचान गरेर सम्बोधन गर्नु पर्ने बताए । उनले भने, ‘नेपालको समस्या लगभग समाधान भईसक्यो । केही क्षेत्रको केही असन्तुष्टी छ । मलाई नेपाली नेताहरुमा विश्वास छ । बाँकी समस्या पनि छिट्टै हल भएर नेपाल अगाडि बढ्छ ।’
काग्रेस महाधिवेशनको उद्घाटन सत्रमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूप्रति लक्षित गरेर दिएको अभिब्यक्तीप्रति टिप्पणी गर्दै प्रचण्डले आफूलाई अभिभावक भन्ने गरेकोले सोही आधारमा भनेको हुनु पर्ने धारणा राखे । कोसियारीले भने, ‘प्रचण्डले मलाई गार्जेन भन्छन् । उनले गार्जेन भनेर त्यस्तो भनेका होलान् । हामी नेपालमा नाकाबन्दी होस्, नेपाली जनताहरु भोकै मरुन भन्ने चाहँदैनौ । नेताहरूले देशको प्रगतिकोलागि जे आवश्यक छ त्यो मात्रै बोल्नु पर्छ । भारतसँगै नेपालको पनि प्रगति हुनु पर्छ ।’
भारतको नेपाल नीति असफल भएको हो भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘कसैको नीति फेल भएको छैन सक्रमणकालमा यस्ता कुराहरू आईरहन्छन् । अहिले नेपाल र भारत दुवै पास भएका छन् ।’
कोसियारीले नेपालमा भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा भएको प्रर्दशनप्रति टिप्पणी गर्दै आफ्नै मुखको दातले जिब्रो टोक्दा दाँत उखेलेर नफालिने तर्क गरे । उनले भने, ‘नेपालले ३० प्रतिशत ईन्धन ल्याउन ग्लोबल टेण्डर गरेको छ अनि कम दियो भनेर भारतलाई गाली गर्छन् । काग्रेस, एमाले, माओवादी सबै भारतले गर्दा भन्छन् । यसरी चल्दैन ।’
नयाँ यूगमा प्रवेश गरेको नेपाल अब आत्मनिर्भर र स्वालम्बि हुनु पर्ने धारणा राख्दै उनले आफूले पशुपति नाथ र डोलेश्वर महादेवसँग पनि नेपाल आफ्नो खुट्टामा आफै उभियोस भन्ने कामना गरेको बताए ।
कोसियारीले सन् १९५० को नेपाल भारत मैत्रि सन्धीको विरोध हुने गरेको प्रति लक्षित गर्दै सन्धी पढेर मात्रै विरोध गर्न सुझाव दिए ।