नेपाल-भारतको गोप्य वार्तामा चीनको भूत !

372
  •  
  •  
  •  

काठमाडौ, १३ साउन । आगामी साउन १८-१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्दैछन् । १७ वर्षपछि भारतका प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् । यसअघि सन् १९९७ मा तत्कालिन भारतीय प्रधानमन्त्री आई के गुजरालले नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि पनि भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेईले नेपालको भ्रमण गरेका थिए तर त्यो उनको भ्रमण नेपालको औपचारिक नभई सार्क समिटका लागि थियो ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका विषयलाई लिएर भारतमा निकै धेरै बहस चलिरहेको छ । अन्य भ्रमणहरू भन्दा मोदीको नेपाल भ्रमणलाई भारतका बुद्धिजीविहरूले पनि निकै चासो देखाइरहेको भारतीय सञ्चारमाध्यममा आएका टिका-टिप्पणी तथा विचारहरूले प्रष्ट पारेको छ । भारतका केही बुद्धिजीविहरूले नेपाल र भारतबीच हुने द्धिपक्षीय गोप्य वार्ताका क्रममा चीनका व्यक्तिहरूको पनि उपस्थिति हुने आशंका गरेका छन् ।
चीनीयाँहरू ‘गोरिल्ला’का रूपमा नेपाल र भारतबीच हुने वार्तामा प्रवेश गर्ने आशयका टिकाटिप्पणीहरू केही भारतीय बुद्धिजीविहरूले गरेका छन् । यस्तै, उक्त गोप्य वार्तामा भएका धेरै विषयहरू सञ्चारमाध्यमहरूमा नआउने उनीहरूको आशंका छ ।
प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको चाजोपाजो मिलाउनका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज समेत नेपाल आएका थिइन् । ३ दिने नेपाल बसाईका क्रममा राष्ट्रपति, प्रधानमन्त्री तथ विभिन्न राजनीतिक दलका नेताहरूसँग शिष्टाचार भेट गरी मोदीको भ्रमणलाई सहज बनाउने कार्य गरेकी थिइन् ।
मोदी प्रधानमन्त्री भएपछी उनको नेपाल भ्रमण दोस्रो औपचारिक विदेश भ्रमण हो । उनले यसअघि भुटानको भ्रमण गरेका थिए । भुटान र नेपाल दुवै देशले चीनसँग सिमा जोडिएका देशहरू हुन् । चीनले नेपाल तथा भुटानमा विगत केही समयदेखी आफ्नो प्रभुत्व बढाउँदै गएपछि सशंकित भएको भारतले दुई राष्ट्रलाई ब्यालेन्समा राख्नका लागि प्रधानमन्त्रीको औपचारिक भ्रमणलाई आवश्यक ठानेको हो । दुबै सार्क राष्ट्रहरू नेपाल र भुटान भारतका महत्वपूर्ण छन्, यस्तै यी राष्ट्रहरूमा चीनले आफ्नो प्रभूत्व बढाउँदै लगेको सत्य समेत भारतसामू लुकेको छैन् ।
नेपालमा चीनको प्रभूत्व बढ्दै गएकोमा भारतले चीनलाई दोष लगाउन सक्दैन । भारतका बुद्धिजीविहरू यस्तो हुनुमा भारतकै कमजोरी देख्छन् । चीनले नेपालमा आफ्नो समर्थकहरू धेरै बनाइसकेको र यसका लागी भारतले आफैलाई दोष लगाउनुबाहेक अन्य विकल्प नभएको उनीहरूको भनाई छ ।
पछिल्ला सरकारहरूले नेपाललाई वेवास्ता गरेको भारतीयहरू स्वयम स्विकार गर्छन् । सन् २००२ मा सार्क समिटमा भाग लिन आएका प्रधानमन्त्री अटल बिहारी बाजपेईले नेपालसँग औपचारिक वार्ता गर्न नसक्नु, १० वर्षसम्म प्रधानमन्त्री बनेका मनमोहन सिंहले नेपालप्रति चासो नदिनु र एकपटक पनि नेपालको भ्रमण नगर्नु यी सबै गल्ती हुन् । प्रधानमन्त्रीत्व कालमा टाढाका देशहरू जस्तै अमेरिका पटक-पटक भ्रमण गरेका मनमोहन सिंहले नेपालमा एक पटक पनि पाइला टेकेनन् ।
भारतीय बुद्धिजीविहरूले मोदीको यो भ्रमणलाई निकै महत्वपूर्ण रूपमा लिएका छन् । मोदीको यो भ्रमणले नेपाल-भारतको सम्बन्ध अझ सुदृढ हुने र चीनको एकतर्फी प्रभुत्वको अन्त्य गर्नका लागि सहयोगी हुने विश्वास उनीहरूले गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीलाई अहिले निकै ठुलो र महत्वपूर्ण चुनौति रहेको बुद्धिजीविहरू बताउँछन् । चीनको चुनौती कुनै गोली बारूदसँग होइन, चीनले पछिल्लो समयमा नेपालमा दिइरहेको चासो र जमाइरहेको प्रभुत्वलाई कम गर्नु सबैभन्दा ठुलो चुनौती हो । चीनले विगतका वर्षहरूमा नेपालमा पूर्वाधारविकासमा गरिरहेको लगानी जस्तै विभिन्न नेपाल-चीन संयुक्त राजमार्ग निर्माणहरूले भारतको प्रभुत्वलाई खस्काइरहेको छ । चीनले अन्य पूर्वाधारमा गरिरहेको लगानी, नेपालमा चीनले गरिरहेको लामो समयका प्रोजेक्टहरूलाई भारतले वेवास्ता गर्न नहुने उनीहरू बताउँछन् ।
अहिलेको अवस्थामा भारत, नेपाल र चीनले नेपालको उर्जाको विकासकालागि मिलेर काम गर्न सक्ने बताइँदै आएको छ । केही समयअघि भारतका लागि चीनका राजदूत वेई वेईले दुवै देश मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए । दि हिन्दुसँगको कुराकानीका क्रममा उनले विश्वको सबैभन्दा धेरै जनसंख्या र बजारको सम्भावना प्रचुर रहेका दुई देश (भारत र चीन) अर्थतन्त्रमा एकअर्काका पूरक भएको बताएका थिए । उनले अगाडि भनेका छन्, ‘हामी दुवै १२ औ पञ्चवर्षीय योजना कार्यान्वयन गरिरहेका छौ । चीन तथा भारतले एक अर्काको फाइदाका लागि काम गर्नुपर्छ । यस्तै, बिसिआईएम(BCIM) आर्थिक विकासलाई सँगै लिएर अगाडि बढ्नुपर्छ । यस्तै, अन्य विभिन्न क्षेत्रमा समेत चीन र भारत एक भएर अगाडि बढ्नुपर्छ ।’
यसरी चीनले अन्य विभिन्न विषयमा पनि भारतसँग सगै मिलेर अगाडि बढ्नका लागि आग्रह गरेको छ भने भारतले पनि चीनका केही विषयलाई सकारात्मक रूपमा लिँदै भारतले उक्त विषयलाई नेपालसामू पनि राख्न सक्ने बताइएको छ । मोदीको भ्रमणमा यदी ती विषयहरू नेपालसामू राखिए चीन भुतका रूपमा नेपाल-भारतको वार्तामा पसेको पुष्टी हुने केही भारतीय बुद्धिजीविहरूको भनाई छ ।
(भारतका विभिन्न सञ्चारमाध्यमहरूको सहयोगमा)

  •  
  •  
  •