मधेसी नेतासँगको छलफलमा के भए सवाल जवाफ ?

221
  •  
  •  
  •  

काठमाडौं ११ साउन (ओएनएस) :काठमाडौं : भारतीय विदेशमन्त्री सुषमा स्वराज आफ्नो तीनदिने नेपाल यात्रामा पूर्ववर्ती यूपीए सरकारभन्दा फरक र सकारात्मक सन्देश दिन सफल भएकी छन्। मधेसी नेतासँगको नास्ता बैठकमा र भारतीय राजदूत रन्जित रेले उनको सम्मानमा दिएको दिवाभोजमा शनिबार अलगअलग ढंगले स्वराजले त्यस्तो सन्देश दिएकी हुन्।

मधेसी नेताहरूले नेपालमा आफूलाई दोस्रो दर्जाका नागरिकका रूपमा व्यवहार गरेकाले समानता र बढी हकका लागि भारतले हस्तक्षेप गर्नुपर्ने सुझाव दिएपछि त्यसप्रति असहमति जनाउँदै उनले भारतले त्यस्तो गर्न नसक्ने सन्देश दिइन्। उनले पहिलो दर्जाको नागरिक बन्ने आधारबारे मधेसी नेताहरूसँग प्रश्न पनि गरेकी थिइन्। ‘मधेसबाट राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री र परराष्ट्रमन्त्रीसमेत बनेका छन्, कसरी दोस्रो दर्जा भयो?’ गृह, परराष्ट्र र महत्त्वपूर्ण मन्त्रालय समालिसकेका मधेसी नेतासँग उनले भनिन्, ‘तपाईंहरूको माग उचित छ भने किन अलगअलग पार्टी बनाउनुभयो, किन एक हुन सक्नुभएन?’

राजदूत रेले आयोजना गरेको दिवाभोजमा कांग्रेस, एमाओवादी र अन्य वरिष्ठ नेतासँग विगत आठ वर्षदेखि भारतले अछूतसरह व्यवहार गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पाहुनाको सूचीमा सामेल गराइएको थियो। ११ जना नेता सहभागी दिवाभोजमा संविधानसभा निर्वाचनमा चौथो पार्टीको हैसियत बनाएको राप्रपा नेपालका अध्यक्ष थापाको सहभागिता देखिनुलाई पनि भारतले नेपालप्रतिको पुरानो दृष्टिमा परिवर्तनको सन्देश दिन खोजेको संकेत मिलेको छ।

तपाईंहरूको माग उचित छ भने किन अलगअलग पार्टी बनाउनुभयो, किन एक हुन सक्नुभएन?’
स्रोतका अनुसार अर्थमन्त्री रामशरण महतले दिवाभोजमा भएको छलफलका क्रममा राप्रपा नेपालका सम्बन्धमा टिप्पणी गरेका थिए। हिन्दुत्वको नारा लगाएर राप्रपा नेपालले चुनावमा उपलब्धि हासिल गरेको महतले बताएपछि थापाले भारतीय विदेशमन्त्री स्वराजलाई धर्मनिरपेक्षताका कारण नेपालको राष्ट्रिय पहिचान खतरामा परेको जबाफ दिए। उनले भने, ‘धर्मान्तरण भइरहेको छ।’ यस विषयमा स्वराजले टिप्पणी गरेकी थिइन्, ‘यो निकै गम्भीर विषय हो।’

बोल्दाबोल्दै रोकिन् स्वराजले

नेपाल-भारत मैत्री संघको कार्यक्रममा भारतलाई नै हिन्दु राज्य बनाउनुपर्ने माग गर्दै वक्ताले बोलेपछि स्वराजले उनलाई बोल्दाबोल्दै रोकेर प्रतिक्रिया जनाएकी थिइन्। प्रेम लस्करीको अध्यक्षतामा भएको कार्यक्रममा अन्तिम वक्ताले धन्यवाद ज्ञापनका क्रममा भारत पनि हिन्दु राष्ट्र बन्नुपर्छ भनेका थिए। उनलाई तत्काल रोकेर स्वराजले भनिन्, ‘म धर्मनिरपेक्ष भारतको संविधानअन्तर्गत शपथ खाएर भारतलाई प्रतिनिधित्व गर्दै आएकी हुँ, तपाईंको सो कुरा मलाई स्वीकार्य छैन।’ उनले भारत धर्म निरपेक्ष मुलुक रहेको र त्यसप्रति आफ्नो सम्मान रहेको पनि बताएकी थिइन्।


  •  
  •  
  •