नाकाबन्दीले द्विपक्षीय संयन्त्र प्रभावित

81
  •  
  •  
  •  

काठमाडौं २१ कात्तिक ।
नेपाल र भारतबीच दुई महिनायता जारी राजनीतिक तनावले द्विपक्षीय सम्बन्ध बिग्रन गएको छ भने नियमित रूपमा दुई देशबीच हुनुपर्ने विभिन्न संयन्त्रका बैठकसमेत प्रभावित बन्न पुगेका छन्।

आफूले चाहेजस्तो संविधान जारी हुन नसकेकोमा तीव्र असन्तुष्टि व्यक्त गर्दै भारतले नेपालमाथि नाकाबन्दी लादेपछि दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न भएको हो।भारतीय नाकाबन्दीका कारण प्रधानसेनापति रमिन्द्र क्षेत्रीको भारत भ्रमणसमेत टुंगो लाग्न नसकेको स्रोतले बतायो।

‘अहिलेको चिसिएको सम्बन्धका कारण उहाँको तत्काल भारत भ्रमण हुन कठिन छ,’ नयाँदिल्लीस्थित स्रोतले भन्यो। भदौ २४ मा पदभार ग्रहण गरेका प्रधानसेनापतिलाई भारतीय सेनाले त्यसको पन्ध्र दिनपछि नै भ्रमणका लागि निमन्त्रणा पठाए पनि उनको भ्रमणबारे कुनै प्रगति हुन सकेको छैन।

प्रधानसेनापति क्षेत्रीको भारत भ्रमणसम्बन्धी विषय मन्त्रिपरिषद्बाट स्वीकृत हुन नसकेको स्रोतले बतायो।नेपाली सेना र भारतीय सेनाका प्रधानसेनापति परिवर्तन भएलगत्तै एकअर्काको मुलुक भ्रमण गर्ने प्रचलन छ।

भ्रमणका अवसरमा एकअर्काे देशका नयाँ प्रधानसेनापतिलाई मानार्थ प्रधानसेनापतिबाट विभूषित गर्ने प्रचलन छ।हरेक वर्ष सेप्टेम्बर र अक्टोबरमा बस्दै आएका द्विपक्षीय संयन्त्रका बैठक आयोजना हुन सकेका छैनन्।

काठमाडौंस्थित परराष्ट्र मन्त्रालयका एक अधिकारीले मन्त्री कमल थापाको भ्रमणमा भारतले गरेको आश्वासन पूरा नभएको बताउँदै भारतले नाकाबन्दी नहटाएसम्म द्विपक्षीय सम्बन्ध सहज हुन नसक्ने बताए।भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भारतका तर्फबाट द्विपक्षीय संयन्त्रको बैठक गर्न कुनै हिच्किचाहट नरहेको दाबी गरे।

उनले नेपालमा विद्यमान राजनीतिक तनाव हल भए द्विपक्षीय सम्बन्ध सहज हुने तर्क गरे।सेप्टेम्बर अन्तिम साता अलाहबादमा हुने भनिएको नेपाल–भारत द्विपक्षीय संयन्त्रको बैठक स्थगित भएको थियो। ‘यो बैठक अर्को मिति तय नभएसम्मका लागि स्थगित भएको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।

नेपाल र भारतबीच प्रहरी एकेडेमी प्राविधिक समितिसम्बन्धी बैठकसमेत हुन सकेको छैन । त्यस्तै यही अवधिमा हुनुपर्ने दुई देशबीचको गृहसचिवस्तरीय बैठकसमेत हुन सकेको छैन । यद्यपि नाकाबन्दीकै बीच द्विपक्षीय नापी अधिकृतहरूको बैठक केही दिनअघि देहरादुनमा सम्पन्न भएको थियो।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •