भारतीय बाटोबाट विदेश जाने नेपालीमाथि अब निगरानी

134
  •  
  •  
  •  

काठमाडौं २८ माघ (ओएनएस) : भारतीय भूमि प्रयोग गरेर विदेश जाने नेपालीलाई अब भारतले पनि निगरानी गर्ने भएको छ । नेपाल–भारतको सीमा सुरक्षा व्यवस्थापन सम्बन्धि बैठकमा नेपालले राखेको प्रस्तावमा भारतले सहमति जनाएको छ ।  पोखरामा बुधवार दिउँसो सकिएको बैठकले सीमा सुरक्षा र सीमा अपराधलाई साझा मुद्दा बनाउने सहमति गरेको छ ।

नेपालले भारतीय भूमिबाट गैरकानूनी ढंगले विदेश जाने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो । त्यसलाई भारतीय पक्षले सहज रुपमा लिएको र अब भारतीय बाटो हुँदै विदेश जानखोज्ने माथि निगरानी बढाउने एक नेपाली अधिकारीले ओएनएसलाई बताए ।

नेपालमा भारतीय नक्कली मुद्रा कारोवार गर्ने आपराधिक गिरोहलाई नियन्त्रण गर्न पनि जोड दिइएको छ । दुई दिनसम्म चलेको बैठकमा सीमा क्षेत्रमा हुने विभिन्न किमिसका आपराधिक क्रियाकलाप, मानव बेचबिखन, लागु औषधको अवैध कारोवार, हातहतियार ओसार पोसार, आतंकवाद नियन्त्रणलगायतका विषयमा छलफल भएको गृहमन्त्रालयका सह–सचिव लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।

नेपालले भारतीय सीमा क्षेत्रमा निर्माण गरिएको सडक एवं संरचनाले नेपाली भूभाग डुवानमा परि हजारौं विस्थापित हुनुपरेको विषयमा नेपाली पक्षले ध्यानाकर्षण गराएको छ । बैठकमा नेपालका तर्फबाट गृह मन्त्रालयका सह–सचिव लक्ष्मीप्रसाद ढकाल र भारतका तर्फबाट गृह मन्त्रालयका सीमा व्यवस्थापन हेर्ने हितेस कुमार एस मकवानले नेतृत्व गरेका थिए ।


  •  
  •  
  •