मानव विकास सूचकाङ्कमा नेपाल अघिल्लो वर्षभन्दा पछाडि

429
  •  
  •  
  •  

काठमाडौं २९ मंसिर ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी)ले जारी गरेको मानव विकास सूचकांकमा नेपाल अघिल्लो वर्षभन्दा पछाडि धकेलिएको छ । गत वर्षभन्दा एक स्थान तल झर्दै नेपाल १४६ औं स्थानमा आइपुगेको छ ।

नेपालको ०.५४८ अंक रहेको छ । गत वर्ष नेपाल १४५ स्थानमा रहेको थियो । यो वर्षमा उक्त स्थान गुमाउँदै नेपाल वर्तमान स्थानमा आइपुगेको हो । न्यून मानव विकास देशहरुको सूचीमा पहिलो नम्बरमा रहेको नेपाल यो वर्ष दोस्रोमा समेत झरेको छ ।

यो वर्ष केन्या नेपालभन्दा माथि उक्लेको छ । गत वर्ष नेपाल र केन्या समान अवस्थामा थिए । १ सय ८८ देशमध्ये नेपाल केही सुधार गर्न सकेको खण्डमा विकसित मुलुकको सूचीमा पर्न सक्ने सम्भावना थियो । पाकिस्तान, अफगानिस्तान, हाइटी, सुडान जस्ता देश नेपालभन्दा तल्लो स्थानमा छन् । दक्षिण एसियामा भारत, श्रीलंका र बंगलादेश नेपालभन्दा माथि छन् ।

शिक्षा, स्वास्थ्य, प्रतिव्यक्ति आय जस्ता विषयका तथ्यांक केलाएर युनडिपीले मानव विकास सूचकांक प्रकाशित गर्दै आएको छ ।

गत वर्षको नेपालको तथ्यांकमा प्रतिव्यक्ति आयमा पनि काठमाडौं सबैभन्दा सम्पन्न जिल्ला देखिएको थियो । काठमाडौंको प्रतिव्यक्ति आय दुई हजार सात सय ६४ अमेरिकी डलर थियो । सबैभन्दा न्यून प्रतिव्यक्ति आय बाजुराको ५२३ मात्र रहेको थियो । पर्चेजिङ पावर प्यारिटीका आधारमा सबै नेपालीको औसत प्रतिव्यक्ति आयसमेत एक हजार एक सय ६० अमेरिकी डलर पुगेको थियो । त्यसमा सहरी क्षेत्रको आय दुई हजार दुई सय ४८ अमेरिकी डलर र गाउँको नौ सय ३६ अमेरिकी डलर थियो । नेपालमा उत्पादनशील उमेर भएका युवाको बहुमत रहेको हुँदा उनीहरुलाई आर्थिक विकासमा परिचालन गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा सहरी र ग्रामीण क्षेत्रको असमानताको खाडल पुर्न कृषि, उद्योग र पूर्वाधारमा लगानी बढाउन सुझाव दिइएको छ ।

जिल्लागत दृष्टिमा गत वर्ष शून्य दशमलव ३६४ सूचकांक रहेको मुगु सबैभन्दा पछाडि परेको थियो । कमजोर पाँच जिल्लामा मुगुसहित बझाङ, कालिकोट, हुम्ला, अछाम परेका थिए । बझाङले शून्य दशमवल ३६५, कालिकोटले शून्य दशमवल ३७४, हुम्लाले शून्य दशमवल ३७६ र अछामले शून्य दशमवल ३७८ अंक पाएका थिए । रिपोर्टले काठमाडौंका अवस्थामा सबैभन्दा राम्रो देखाएको थियो ।

नागरिकबाट


  •  
  •  
  •