काठमाडौ, १० माघ(ओएनएस) : नामिबियामा आज सम्पन्न हुने डिभिजन २ को प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गर्नका लागि २ सय ९ रनको विजय लक्ष्य पाएको छ । केन्यासँग प्रतिष्पर्धा गरिरहेको नेपालले केन्याले निर्धारित ५० ओभरको खेलमा आफ्ना ९ विकेट गुमाउँदै २ सय ८ रन जोडेपछि नेपालले उक्त विजय लक्ष्य पाएको हो ।
केन्यालाई उक्त योगफलमा पुर्याउनका लागि नेल्सन ओडियाम्बोले सर्वाधिक ४८ रन जोडेका थिए । यस्तै, नरेन्द्र पटेलले ४४ रन, राकेप पटेलले ३२ रन र नेहेमिहा ओडियाम्बोले २५ रन जोडेका थिए ।
नेपालको तर्फबाट सोमपाल कामीले ३ विकेट लिएका छन् । यस्तै, सागर पुनले २ विकेट लिएका थिए भने भुवन कार्की र शक्ति गौचनले समान १-१ विकेट लिएका थिए ।
शुक्रबार केन्या विरूद्ध भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । पराजयकै कारण नेपाल डिभिजन १ मा पुग्न असफल भएको थियो । आजको खेलमा केन्यालाई पराजित गर्न सके नेपाल तेस्रो स्थान ओगट्न सक्नेछ भने हारको बदला समेत लिन सक्नेछ ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।