संविधान जारी हुने दिनको ग्रहदशा यस्तो छ

263
  •  
  •  
  •  

काठमाडौं ३ असोज ।

दिउँसो १:३५ मिनेटदेखि १:४० सम्म उपयुक्त समय

नेपालको नयाँ संविधान असोज ३ गते अपरान्ह ५ बजे जारी गर्ने तयारी गरिएको छ । करिब ८ वर्षको रस्साकस्सीपछि नेपाल र नेपाली जनताले नयाँ संविधान पाउँदैछन् ।

दलहरुले नेपाली जनताको लामो प्रतिक्षाको घडी तोड्दै संविधानसभाबाट नयाँ संविधान पारित गरिसकेका छन् । पारित भइसकेको संविधानलार्इ ‍औपचारिकरुपमा लागू हुन अब २४ घन्टा बाँकी छ ।

यो अवस्थामा ज्योतिष शास्त्रले असोज ३ गते अपरान्ह ५ बजे संविधान जारी गरिने समयलार्इ उपयुक्त मानेको छैन ।

आइतबार अपरान्ह ५ बजे गणतन्त्र नेपालको नयाँ संविधान जारी भएको घोषणा गर्न निर्धारित समय उपयुक्त नभएकाले त्यसमा हेरफे गरिनु जरुरी छ ।

यसकारण उयुक्त छैन ५ बजेको समय :
१)
नेपालको आकाशमा देखिने ग्रहस्थिति जसलाई ज्योतिषीय भाषामा लग्नकुण्डली भनिन्छ ।  त्यसका १२ वटा स्थानहरूमध्ये पहिलो स्थान र छैठौं स्थानका अधिपतिबीच आपसमा विमति राख्ने ग्रहहरूको युति, कारक ग्रह– शनि, चन्द्र

२) पहिलो र दशौं स्थानका अधिपतिका बीच विमति र आपसी दृष्टि सम्बन्धले देशमा विवाद र असहमति चलिरहने, जसले गर्दा समस्याको निकास, देशको विकास र शान्ति टाढा रहने । योगकारक– मङ्गल, शनि ग्रह

३) चौथो र नवम स्थानको अधिपति छैठौं स्थानमा,  छैठौं स्थानको अधिपति क्रुरग्रहसँग नीचो बनेर रहेको, त्यस स्थानको अधिपतिको पनि पहिलो स्थानमाथि दृष्टि परेको, यी आदि कारणले गर्दा जनताले पाउने दीर्घकालीन सुख र देशको चौतर्फी विकास र कार्यसिद्धिमा बाधा पर्ने । योगकारक– शुक्र, चन्द्र र मङ्गल ग्रह।

४) नैसर्गिक राज्य र राज्येशकारक ग्रह निष्क्रिय स्थानमा रहनाले देशले स्वाभिमान राख्न, दीगो विकास गर्न र स्थायित्व पाउन कठिन पर्ने । कारक– सूर्यग्रह  ।

५) ग्रहकै दृष्टिले हेर्दा शनि, मङ्गल र सूर्य प्रबल छन् । तर ती धीरता र स्थिरताप्रद छैनन्, बरु अस्थिरता निम्त्याउने खालका, अमानवीय व्यवहार र आक्रोशका कारक देखिन्छन् ।

६) लग्न, नवांश र होरामा क्रूरग्रह परेको र बारबेला समेत र अशुभ परेको छ । कारक–लग्नमा कुम्भ, होरामा शनि, बारबेलामा उद्वेग ।

समग्रमा उक्त समयमा नेपाली आकाशमा बहुसंख्यक ग्रह देश र जनताका लागि शुभप्रद देखिँदैनन् । त्यस विपरीत विवाद, विभाजन र अशान्तिमा घिउ थप्ने काम यिनबाट हुन सक्नेछ ।

अतः असोज ३ गते अपरान्ह ५ बजेको सट्टा दिउँसो १ बजेर ३५ देखि १ बजेर  ४०मिनेटको बीचमा संविधान घोषणाको कार्यक्रम गर्दा तुलनात्मकरूपमा बढी उपयुक्त हुने देखिन्छ ।

तिनले धर्म, सदाचार, नैतिकता र मानवीयतालाई समाप्त पार्ने दिशामा सहयोग गर्नेछन् । देशमा काटमार हत्या, हिंसाको पुनरावृत्ति गराउने र बौद्धिक जगत्को औचित्य समाप्त पार्ने दिशामा अभिप्रेरित गराउने गरी लोभी, भ्रष्ट, लालची र अदूरदर्शी दुराचारीको साम्राज्यविस्तारलाई प्रोत्साहन गर्नमा ३ गतेको ५ बजेको समय मुख्य कारक बन्न जानेछ ।

अधैर्य, अतिशय विरुद्धाचारीको प्रदर्शन र अदूरदर्शिताका कार्यमा क्रूरग्रहका कारण सहयोग पुग्ने भएकाले र २०७२ साल असोज ३ गते १७ बजे घोषणा हुने गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि लामो समयसम्म संविधान क्रियाशील रहन पनि कठिन हुनसक्ने देखिएकाले उक्त समय उपयुक्त छैन, सो समय अनुपयुक्त भनिएको हो ।

अन्यथा ‌ओरालो लाग्दा लाग्दै पनि केही सुरक्षित रहन सक्ने विकल्पहरुको सहयता लिन सकिने अवस्था छ । देश र देशबासीलाई कता पुर्याउने लक्ष्य छ सोही अनुसार गर्न गराउन सक्नुहुन्छ ।

देश कमजोर हुने र नेता बलिया हुने हालसम्मकै अवस्था दोहोर्याई विदेशीको शरण खोज्नका लागि समय सक्षम छ । सुन, मनन गर र उत्तर देउ भन्दा पनि तातो रिसकै भरमा मात्र क्रियाकलाप गर्ने पटमूर्खहरुको जमातको देश बनाउनका लागि समय सक्षम छ ।

अतः देश र जनताको सुख, शान्ति र समृद्धिका लागि गरिने यस्ता विशेष महत्वका कार्यक्रम गर्दा ज्योतिषीय दृष्टिले सुरक्षात्मक विधि अवलम्बन गर्नु अपेक्षित छ ।

त्यसका लागि संविधान घोषणाको पूर्वनिर्धारित समयमा परिवर्तन गरी असोज ३ गते नै साँझ पाँच बजेको सट्टा दिउँसो  १ बजेर ३५ मिनेटदेखि १ बजेर ४० मिनेटको बीचमा संविधान घोषणाको कार्यक्रम गर्दा तुलनात्मक रूपमा बढी उपयुक्त हुने देखिन्छ ।

किनभने
१) उल्लिखित पछिल्लो समयमा धनुर्लग्न र सिंहको नवांश परेको छ ।

२) सूर्यको होरा परेको छ ।

३) बारबेलामा शुभबेला परेको छ ।

४) सो समयमा आकाशमा प्रथम, पञ्चम, नवम र दशमस्थान र तिनका अधिपति समेत प्रबल छन् ।

५) समग्रमा ग्रहस्थिति राजयोग कारक छन् ।

-अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •