नेपाल भारतसँग शत्रुता चाहन्न : नेपाल

130
  •  
  •  
  •  

दाङ, २१ कात्तिक(ओएनएस) : नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले भारतसँग नेपालले शत्रुता नचाहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले नेपालले भारतलाई एक असल छिमेकीका रूपमा देख्न चाहेको बताएका छन् । उनले भारतसँगको एकताको सन्देश दिन चाहेको बताउँदै उनले भने, ‘हामी शत्रुता चाहन्नौँ, भारतले नाकाबन्दी खोलिदेओस् सबै तिक्तता मेटिनेछन् ।’

उनले दिगो मित्रताका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतीय नियत सुध्रनु पर्ने बताए । उनले भने, ‘नेपालका मान्छे किनबेच गरेर हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नेपालीका लागि कदापी स्वीकार्य हुन्न ।’

उनले प्रमुख दल नेपाली काँग्रेस प्रतिपक्षमा बस्न नहुने बताएका छन् । संविधान कार्यान्वयनका लागि दलहरूबीचको एकता आवश्यक रहेको बताउँदै उनले काँग्रेसलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । पुरानो भद्र सहमति तोडेर काँग्रेसले आफ्नो विश्वास गुमाएको दावी गर्दै नेता नेपालले विगतको समिक्षा गरेर काँग्रेस अघि बढ्नु पर्ने सुझाव दिएका छन् ।

उनले आफूले कांग्रेस सभापति सुशील कोइरालालाई सहमतिका लागि बारम्बार आग्रह गरेको तर कोइरालाले नमानेको समेत बताए । कांग्रेसले सरकारमा सामेल नहुने बताएपछि आफूले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिदिन प्रस्ताव गरेको पनि बताए । उनले भने, ‘सरकार सहभागीताका लागि उहाँहरुले नमानेपछि रचनात्मक प्रतिपक्षको भुमिकामा बस्न प्रस्ताव गरेको छु । प्रतिपक्षमै रहेर पनि काँग्रेसले पक्कै सघाउने छ ।’


  •  
  •  
  •