दिल्लीमा रहेका नेपाल र देउवासँग भारतले यस्तो आग्रह गर्यो

205
  •  
  •  
  •  

काठमाडौं ३ मंसिर ।
भारतले सार्क सम्मेलनअघि राजनीतिक तनाव र दलीय विवाद ननिम्त्याउन नेपालसँग आग्रह गरेको छ। स्रोतका अनुसार भारत भ्रमणमा रहेका दुई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग भारतीय नेताहरूले यस्तो आग्रह गरेका छन्।

सार्क सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाबारे पनि भारतीय नेताहरूले गम्भीर चासो प्रकट गरेका छन्। मोदी सडकमार्गबाट नेपाल प्रवेश गर्दैछन्।

‘भारतले आफ्ना दुई चासो नेपाली नेताहरूसँग राखेको छ, पहिलो सार्कअघि कुनै राजनीतिक तनाव नहोस्’, स्रोतले भन्यो, ‘अर्को प्रधानमन्त्री मोदीको बलियो सुरक्षा व्यवस्था।’ नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री देउवा र एमाले नेता तथा अर्का पूर्वप्रधानमन्त्री नेपालसँगको भेटमा मंगलबार दिल्लीमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारतको चासो व्यक्त गरेको स्रोतले जानकारी दिएको छ।

भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूको १२५ औं जन्मसमारोहमा सहभागी हुन कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको निम्तोमा देउवा र नेपाल दिल्ली आएका हुन्।

देउवाले स्वराजलाई कांग्रेस, एमाले र राप्रपासँग सहमति नभए मतदानबाट संविधान जारी गर्न दुई तिहाइ बहुमत रहेको बताएका थिए। ‘अझै लेनदेनमै जानुपर्छ भन्ने हो’, देउवाले स्वराजसँग भने, ‘हामी माघ ८ मै संविधान जारी गर्नेछौं।’

उनले नेपाल-भारत सम्बन्धले मोदीको भ्रमणपछि नयाँ उचाइ लिएको बताए। उनले भने, ‘भारत उदार बनेको देखिएको छ, स्थिति सकारात्मक दिशामा अघि बढेको छ।’
अन्नपूणपोष्टबाट


  •  
  •  
  •