नेपालको लगातर दोस्रो सानदार जित

430
  •  
  •  
  •  

काठमाडौं, २४ कात्तिक (ओएनएस) कुवेतमा जारी एसीसी यू–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ ।

कुवेत सिटीको दोहा इन्टरटेन्मेन्ट सिटी मैदानमा भएको खेलमा नेपालले आयोजक कुवेतलाई २६२ रनले पराजित गरेको हो । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियालाई १९५ रनले पराजित गरेको थियो ।

नेपालले दिएको ३२६ रनको लक्ष्य पछ्याएको कुवेत २७.४ ओभरमा ६३ रनको कमजोर योगफलमा अलआउट भयो । नेपालको जितमा तीन बलरले २–२ विकेट लिदा दुई बलरले १–१ विकेट हात पारे । दिपेश श्रेष्ठ, इर्साद अहमद र शुनिल धमलाले २–२ विकेट चड्काउदा सुशील कडेल र आरिफ शेखले १–१ विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुआत गरेपनि कप्तान राजु रिजाल र उपकप्तान आरिफ शेखले सम्हालिर खेल्दै पारी सम्हालेका थिए । नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन जोड्यो । सुरुआती ३ विकेट ९ रन बनाउदा गुमाएको नेपालको लागि राजु र आरिफले ९४ रनको साझेदारी गरेका थिए । राजुले ३१ रन जोडे । यस्तै आरिफले नेपालको लागि सबैभन्दा बढि रन जोड्ने क्रममा ८७ रन जोडे । १११ बल खेल्दा आरिफले ६ चौका प्रहार गरे ।

त्यसअघि पेम तामाङ ५, सुनिल धमला १ र शंकर राना शून्य रनमा पेभिलियन फर्केका थिए । त्यसपछिका ब्याट्सम्यानले आक्रमक खेल प्रस्तुत गरे । सन्दीप सुनारले ४९ रन जोड्दा सौरभ खानलले नटआउट ६४ रन जोडे । उनले ३५ बल खेल्दा ४ चौका र ६ छक्का हाने । यस्तै दिपेन्द्र ऐरिले २० बलमा ४८ रन जोडे ।


  •  
  •  
  •