नेपाल–भारत सम्बन्ध पुनरावलोकन गर्न विज्ञ समूह

120
  •  
  •  
  •  

काठमाडौं ३० पुस ।
सरकारले नेपाल भारतको समग्र सम्बन्धको बिषयमा पुनरावलोकन गर्न सरकारले विज्ञ समूह बनाउने भएको छ । दुई मुलुकबीच सम्बन्ध चिसिइरहेका बेला मन्त्रिपरिषद्ले यस्तो समूह बनाउने प्रयास थालेको हो ।

मन्त्रिपरिषदो बुधबारको बैठकमा सरकारलाई सुझाव दिने प्रयोजनका लागि विज्ञ समूह बनाउने बिषयमा छलफल भएको छ । परराष्ट्र मन्त्रालयले समुह गठनको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो । ‘समूह बनाउने बिषयमा छलफल प्रारम्भ भएको छ , सबै राजनीतिक दल र सरोकारवालाहरुको सुझाप समेटेर यसबारे चाडै निर्णय हुन्छ’ सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता शेरधन राईले भने । मन्त्रिपरिषदो बैठकमा यस्तो समूहमा अख्यियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, भारतका लागि नेपालका पूर्व राजदूत भेखबहादुर थापा र एमाले सांसद् तथा परराष्ट्र मामिला जानकार राजन भट्टराईको नाम आएको छ ।

समूहको कार्यक्षेत्र भारतसंग अहिले सम्म भएका सबै सन्धी सम्झौताको पुनरावलोकन गर्ने र चिसिएको सम्बन्धमा सुधार ल्याउदै दीर्घकालिन लाभका उपायहरुबारे सरकारलाई सुझाव दिनेछ हुनेछ । समुहको कार्यकाल दुईबर्षको हुने प्रस्ताव छ । छिमेकीसंगको सम्बन्धकै पुनरावलोकन गरिने भएकाले विपक्षी राजनीतिक दलहरु समेत संग छलफल गरी समूहको अन्तिम टुंगो लाग्नेछ । नेपाल र भारतबीचको सम्बन्ध र सम्झौताबारे पुनरावलोकन हुनुपर्ने माग पटक पटक उठ्ने गरेको छ । १९५० को सन्धीदेखि सिमा,व्यापार पारवहन लगायतका सम्झौता र सहमतिहरुबारे कतिपय राजनीतिक दलहरुले एजेण्डा बनाएर नै पुनरावलोकनको माग गर्दै आएका छन् । दुबै मुलुकबीचको सम्झौताबारे पटक पटक कुरा उठ्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला पनि दुबै पक्षबाट विज्ञ समूह बनाई छलफल गर्नुपर्ने बिषयमा कुराकानी भएको थियो ।

भारतले नेपालमाथि झण्डै तीन महिनादेखि अघोषित नाकाबन्दी गरिरहेको छ । नेपालमा संविधान जारी भएको बिषयलाई लिएर नाकाबन्दी गरेपछि नेपाल र भारतबीच सरकारी मात्र नभई जनस्तरसम्म पनि सम्बन्ध बिग्रिएको छ । विगतका कतिपय सम्झौताहरुले पनि भारतप्रति परनिर्भर हुनुपर्ने अवस्था आएको भन्दै सरकारलाई छिमेकीहरुसंगको सम्बन्धलाई नयाँ आयामबाट अघि बढाउन दबाव समेत परिरहेको छ । यस्तै अवस्थामा सरकारले विज्ञ समुहको बनाउने निर्णय गर्न लागेको हो ।
कान्तिपुरबाट


  •  
  •  
  •