‘नेपालको विकासमा सहयोग गर्न चीन तयार’

207
  •  
  •  
  •  

चन्द्रकान्त खनाल

रुपन्देही १४ साउन (ओएनएस) : छिमेकी राष्ट्र चीनबाट नेपाल आउने पर्यटकको संख्या बढाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय पहल जरुरी रहेको पर्यटनविद्हरुले औंल्याएका छन् । सरकारी तह र पर्यटन व्यवसायीबाट पर्याप्त पहल नहुंदा चीनबाट आउने पर्यटकको संख्या अन्य साना मुलुकको तुलनामा न्युन भएको उल्लेख गर्दै उनीहरुले उच्चस्तरीय पहलमा जोड दिएका हुन् । नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ५९ औं वर्षगांठको अवसरमा नेपाल–चीन मैत्री समाजले मंगलबार लुम्बिनीमा गरेको ‘नेपालमा चिनीया पर्यटक’ विषयक अन्तरक्रियामा बोल्दै पर्यटनविद्हरुले चिनिया लक्षित पुर्वाधारहरु बढाउन सके चिनीयां पर्यटकको संख्या बढ्ने धारणा राखे ।

उनीहरुले चीनसंग रेलमार्ग, सडक सन्जाल र उत्तरी सीमामा नाकाहरुको संख्या विस्तार, दुर सञ्चारको सहज पहुंच विस्तार जस्ता विषयमा नेपाल सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । कार्यक्रममा बोल्दै नेपालका लागि चिनिया दुतावासका काउन्सिलर छेङ चीले चीन र नेपालबीच प्राचीनकालदेखि ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक, समाजिक र पर्यटन विकासमा सहयोग गर्न चीन सरकार सधैं सकारात्मक रहेको बताए । नेपालको एक चीन नीतिको चीनले सधै प्रशंसा गरेको स्मरण गर्दै काउन्सिलर चीले नेपालमा पुर्वाधार निर्माण,हाइड्रोपावर र कृषिमा चीनले लगानी बढाउंदै जाने र यसबाट नेपालमा चिनिया पर्यटकको आगमन बढ्ने बताए ।

उनले सरकारी स्तरसंगै गैर–सरकारी र जनस्तरबाट समेत सम्बन्ध विस्तारले दुई देशबीचको सम्बन्ध विस्तारसंगै नेपालमा पर्यटन विकास पनि हुने धारणा राखे । ‘नेपालमा चिनीया पर्यटक’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पर्यटनविद् डा. गितु गिरीले दश वर्षअघि सन् २००३ मा ७हजार ५ सय ६२ जना चिनिया पर्यटक नेपाल आएकामा सन् २०१२ मा ७१ हजार ८ सय ६१ जना चिनिया पर्यटक नेपाल आएको तथ्यांक प्रस्तुत गरे । सन् २०१३ मा १३ हजार ५ सय ६१ जना चिनिया पर्यटक लुम्बिनी घुम्न आएको उनले जानकारी दिए । उनले चिनिया पर्यटक अनुकुलका होटल रेष्टुरां अन्य सेवासुविधाको कमी हुदा पर्यटक आकर्षित हुन नसकेको औंल्याए ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले नेपालमा चिनीया पर्यटक बढाउन दुई देशका सरकारबीच उच्च तहमा समझदारी र सहकार्य आवश्यक रहेकोमा जोड दिए । लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङबोले वहुसंख्यक चिनियाहरु बुद्ध र बौद्ध धर्मप्रति आस्थावान रहेको हुंदा १ अर्ब ३० करोड जनसंख्यामध्ये एक प्रतिशतलाई मात्र प्रतेक वर्ष भित्राउन सकेपनि पर्यटन क्षेत्रको कायापलट हुने बताए । उनले सरकारी नीति,कार्यशैली स्पष्ट र दुरदर्शी हुन नसक्दा पर्यटन क्षेत्रको विकास हुन नसकेको बताए ।


  •  
  •  
  •