काठमाडौं २० कात्तिक ।
नेपाल र चीन सीमामा रहेका थप भन्सार नाकाहरू संचालनमा ल्याउन सम्भाव्यता अध्ययन गर्न दुई देशबीच सहमति भएको छ । चीनसँग जोडिएका थप सात नाका खोल्न उच्च पदाधिकारीहरू सम्मिलित संयुक्त टोलीले प्रभावकारीता अध्ययन गरी संचालनमा ल्याउन सहमती भएको हो ।
नेपाल–चीन भन्सार विभागस्तरीय २८ औं नियमित बैठकमा थप नाका खोल्ने विषय पनि उठेको भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीले बताए । मंगलबारदेखी काठमाडौंमा सुरु भएको नेपाल–चीन (ल्हासा) उच्च भन्सार अधिकारीबीचको बार्तामा यो सहमती भएको थियो । बिहीबार २० बुँदे सहमती गर्दै भन्सार विभागका उपमहानिर्देशक रेग्मी र चिनिया पक्षबाट ल्हासा भन्सार उपमहानिर्देशक लङ चेङवेईले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
‘चीनले नेपालसँग जोडिएका थपा सात नाकाको सम्भाव्य अध्यय गरेर संचालनमा ल्याउन सक्ने जनाएको छ,’ उपनिर्देशक रेग्मीले भने, ‘यसले थप नाका खोल्ने विषय सकारात्मक भएको छ ।’ यस अघिका कुनै पनि बैठकमा थप नाका खोल्ने विषय नउठेको जनाउँदै यसपालीको बैठकमा छलफल भएको उनले बताए । चीनसँग जोडिएका ९ नाका मध्ये हाल दुई नाका मात्र संचालनमा छन् ।
संचालनमा रहेका दुई नाका मध्ये पनि खासा तातोपानी नाका भूकम्पले संरचना भत्काएले बन्द भएको छ भने केरुङ नाका संचालनमा छ । यस बाहेक मुस्ताङ, हुम्लाको यारिङ, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथाङका, दोलखाको लामाबगर, गोरखाको लार्के, र मुगु नाकाको सम्भाव्य अध्ययन गर्ने सहमती भएको हो ।
त्यस्तै, वैशाख १२ गतेको भूकम्प पनि बन्द भएको तातोपानी नाका यथाशिघ्र खोल्ने चिनिया पक्षले जनाएको छ । तातोपानी नाका नखुल्दा चीनबाट नेपालमा आउने सामान रोकिएको र यसले नेपाली अर्थतन्त्रमा असर परेको भन्दै नाका खुलाउन चीन तयार रहेको हो ।
त्यस्तै रेग्मीका अनुसार सिन्धुपाल्चोकको लार्चामा निर्माणधिन सुख्खा बन्दरगाहको शीघ्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउन र रसुवाको टिमुरेमा निर्माण गर्ने सुख्खा बन्दरगाहो शीघ्र निर्माण आरम्भ गर्न चीनको सम्बन्धित निकायसँग समन्वय गर्न चिनिया वार्ता टोली सहमती भएको छ ।
नेपाल र चीनबीचको समय अन्तरले दुई देशका भन्सार कार्यलय संचालनमा एकरुपता नभएको भन्दै यसलाई एक रुपता ल्याउन दुई भन्सार अधिकारीबीच सहमती भएको छ ।
नागरिकबाट