काठमाडौं ९ चैत ।
नेपालसम्म रेल सञ्जला विस्तार र इन्धन आयात सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकै क्रममा हुने भएको छ । सोमबार भएको १० बुँदे सम्झतौमा यी दुई विषयमा दुई देशबीच सैद्धान्तिक सहमति जुटेपनि लिखित सहमति हुन सकेको थिएन ।
नेपालको विकासका लागि अतिमहत्वपूर्ण चिनियाँ रेलवे सञ्जाललाई नेपालको राजधानीसहित प्रमुख सहरसम्म ल्याउन समकक्षी ली खछ्याङसँग प्रम ओलीले प्रस्ताव गरिसकेकाले त्यसमा लिखित सहमति हुनमात्रै बाँकी रहेको हो ।
दुई समक्षीबीच भएको भेटमा प्रम ओलीले नेपालको सीमानासम्म रेलवे विस्तार तथा नेपालभित्रै रेलवे सञ्जाल विस्तारको प्रस्ताव गरेका थिए ।
यो प्रस्तावमा चीनले सकारात्मक हुँदै सम्भाव्यता अध्ययन अघि बढाउने जानकारी गराएपछि प्रम ओलीको भ्रमणको अन्तिममा जारी गरिने संयुक्त बक्तव्यमा यो सम्झौतालाई समावेश गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
चीनले स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म ल्याएको रेल आगामी चार वर्षभित्र नेपालको उत्तरी रसुवासँग जोडिएको केरुङसम्म ल्याउने घोषणा गरिसकेको छ ।
त्यसैगरी भारतमाथि रहेको इन्धनको निर्विकल्प निर्भरता तोड्नका लागि इन्धन आयात सम्झौतामा पनि दुई देशबीच हस्ताक्षर हुने भएको छ ।
‘रेल सञ्जाल विस्तार र इन्धन आयात सम्झौतामा सोमबारको भटवार्ताले सैद्धान्ति सहमति जुटाइसकेको छ’, प्रेस सल्लाहकार दाहालले भने, ‘चीनबाट इन्धन आयात गर्ने र नेपालसम्म रेलवे सेवा विस्तारसम्बन्धी विस्तृत विवरण दुई देशबीच बुधबार जारी हुने संयुक्त विज्ञप्तिमा उल्लेख हुनेछ ।’
भारतले गत असोजबाट चार महिना लामो नाकाबन्दी गरेपछि नेपालले इन्धन आयातको विकल्प खोज्दै आएको छ । तर लामो समयदेखि अनिर्णित यो विषयले ओलीकै भ्रमणका क्रममा मूर्तता पाउने भएको हो ।
नेपालले भारतबाट आयात हुने इन्धनको कम्तिमा ३० प्रतिशत इन्धन चीनबाट ल्याउने गरि दुई देशबीच सम्झौता हुन लागेको हो ।
अन्नपूर्णपोष्टबाट