पारवहन तथा यातायात सम्झौता
हिल्सा यारीमा पुल निर्माण तथा मर्मत सम्भार सम्झौता
पोखरा विमानस्थ सम्वन्धी तीन सम्झौता (प्राविधिकपक्ष, निर्माणकार्य र २१ अर्ब सहुलियतपूर्ण ऋण )
चीनलाई उपहार, नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन समझदारी
नेपालको व्यापार प्रवद्र्धन सम्भाव्यता अध्ययन समझदारी
नेपालमा चिनियाँ बैंकको शाखा खुल्ने समझदारी
४० करोड रुपैयाँ बराबरको ३२ हजार सोलार प्यानल प्रदान
नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौतालगायत १० सहमति तथा सम्झौता भएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच बेइजिङको जनबृहत् सभाभवनमा सोमबार भेटवार्ता भएपछि उनीहरूको उपस्थितिमा ती सम्झौता र सहमति भएका हुन् ।
लामो समयदेखि भारतसँग मात्र पारवहन सुविधा लिँदै आएको नेपालले भूपरिवेष्ठित मुलुकले पाउने अधिकारका रूपमा चीनसँग पनि पारवहन तथा यातायात सम्झौता गरेको हो । पारवहन तथा यातायात सम्झौता उपप्रधान तथा परराष्ट्रमन्त्री स्तरमा भएको हो । दुई मुलुकबीच हुम्लाको हिल्सा र तिब्बतको यारी जोड्ने पुल बनाउने र त्यसको मर्मत तथा सम्भार गर्ने सम्झौतासमेत भएको छ ।
नेपालले चीनसँग पारवहन सम्झौता गरे पनि यसको प्रत्यक्ष लाभ तत्काल पाउने अवस्था भने छैन । नेपालले चीन भएर तेस्रो मुलुकबाट तत्काल कुनै व्यापार गर्ने अवस्था छैन । यो सम्झौताले भविष्यमा काजकिस्तान लगायत अन्य मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्दा नेपालले चीनको भूमि प्रयोग गर्न मार्ग प्रशस्त भएको छ । चिनियाँ विद्युत लाइन र रेलवे सेवा नेपाली सीमा क्षेत्रमा पुगेपछि नेपालले यसको केही अवसर सदुपयोग गर्न पाउनेछ । यही अधिकारमा नेपालले चिनियाँ बन्दरगाहको पनि प्रयोग गर्न पाउने निश्चित भएको छ ।
बहु अपेक्षित पेट्रोलियम पदार्थ आयातबारे भने चीनसित कुनै सम्झौता वा सहमति हुन सकेन । पाँच महिना अगाडि पेट्रो चाइनासँग नेपाल आयल निगमले खपतको एक तिहाइ इन्धन आयात गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । तर त्यसपछिका बार्ता र अध्ययन अपुरो भएको भन्दै चीनले पूर्वाधार निर्माणपछि मात्र यसबारे सम्झौता हुने जनाएको भ्रमण टोलीमा सहभागी एमाले सांसद रवीन्द्र अधिकारीले कान्तिपुरलाई बताए ।
यसको सट्टा नेपालमा पेट्रोलियम पदार्थको संभाव्यता अध्ययन गर्न चीनले सघाउने विषयमा पत्र आदानप्रदान भएको छ । चीनले लामो समयदेखि नेपालमा पेट्रोलियम पदार्थ अन्वेण गर्न खोजिरहेको थियो । ‘नेपालमा चीनबाट कसरी पेट्रोल आयात गर्ने भन्ने विषयसँगै चीनले नेपालमै पेट्रोल उत्खननको संभावनाबारे चासो राखेको छ’ एक नेपाली अधिकारीले भने, ‘नेपालले इन्धन आयातको प्रस्ताव गरेको भए पनि चीनले पूर्वाधार निर्माणपछि मात्र सम्झौता गर्दा राम्रो हुने सुझाव दिएकाले अहिले नेपालमा पेट्रोलियम उत्खनन संभाव्यता सम्बन्धी सम्झौता भएको हो ।’
कान्तिपुरबाट