चीनले ‘पावर सिल्करोड’ योजनामा नेपाललाई समावेश गर्‍यो

135
  •  
  •  
  •  

काठमाडौं १२ मंसिर ।
चीनले नेपाल सहित छिमेकी देशहरूलाई उर्जा नेटवर्कमा जोड्ने गरी ‘पावर सिल्करोड’ योजना अगाडि ल्याएको छ। सिल्करोड पुनरुत्थानलाई केन्द्रमा राखेर क्षेत्रीय पूर्वाधार निर्माणमा जुटेको चीनले पहिलो चरणमा सिन्ज्याङमा उर्जा नेटवर्क निर्माणका लागि ३१ अर्ब अमेरिकी डलरको महत्वकांक्षी योजना अगाडि सारेको छ।

दीर्घकालीन योजना अन्तर्गत पहिलो चरणमा पाँच वर्षभित्र चीनको उत्तर–पश्चिम क्षेत्र सिन्ज्याङलाई पाकिस्तान र मध्य एसियाली देशहरूसँग जोड्ने ग्रिड निर्माण गर्न सिन्ज्याङ प्रान्तले ३१ अर्ब डलर (२०० अर्ब युयान) लगानी गर्नेछ। चीनको स्टेट ग्रिड कोअपरेशन अन्तर्गतको सिन्ज्याङ इलेक्ट्रिक पावर कम्पनीलाई उद्धृत गर्दै सिन्ह्वालेअनुसार सिल्करोड आर्थिक क्षेत्रको मुख्य केन्द्र सिन्ज्याङमा ‘पावर सिल्करोड’ परियोजनाको रुपमा २०२० भित्रै विद्युत प्रशारण लाइन निर्माण गरिने छ।

शुरुमा पाकिस्तान र मध्य एसियाली देशहरूलाई जोड्ने गरी सिन्ज्याङमा उर्जा नेटवर्क निर्माण गर्ने र नेपाल सहित अन्य देशहरूलाई नेटवर्कमा जोड्दै जाने चीनको स्टेट ग्रीड नेटवर्ककका अध्यक्ष लीउ झेन्याले बताए।

अध्यक्ष लीउ भन्छन्, ‘आउँदा वर्षहरूमा मंगोलिया, रुस, काजकिस्तान, पाकिस्तान, नेपाल, थाइल्याण्ड, म्यानमार, लाओस लगायतका छिमेकी देशहरूमा उर्जा नेटवर्कमा जोडिने छ।’

चीनले मूलतः २०५० सम्ममा विश्व उर्जा नेटवर्क निर्माण गर्ने लक्ष राखेको अध्यक्ष लीउले बताए। २०३० सम्म स्वच्छ उर्जा र त्यससम्बन्धी पूर्वाधार निर्माणमा चीनको लगानी ८२० अर्ब युयान पुग्ने उनको अनुमान छ।

चीनको स्टेट ग्रिड सम्वद्ध विज्ञ झाओ छिङ्बोका अनुसार सिन्ज्याङमा निर्माण गरिने ग्रिडमा ठूलो परिमाणमा स्वच्छ उर्जा उत्पादनका लागि सौर्य र हावाबाट उत्पादन हुने उर्जा शक्तिलाई एकीकृत गरिने छ। सिन्ज्याङ उर्जा नेटवर्कले एसिया क्षेत्रमा देखिएको विकासको खाडल कम गर्न सहयोग गर्ने उनको विश्वास छ।

चीनका राष्ट्रपति सी जिनपिङले दुई महिनाअघि राष्ट्रसंघको दीगो विकास शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा विश्वमा स्वच्छ उर्जा शक्तिको माग पूरा गर्न उर्जा नेटवर्क निर्माण गर्नु पर्ने प्रस्ताव राखेका थिए। समुद्री र भूमार्गबाट एसियालाई यूरोपसँग जोड्न ‘एक पेटी, एक मार्ग’ योजना लागू गर्ने क्रममा चीनले ‘पावर सिल्करोड’ परियोजना अगाडि सारेको हो। ‘एक पेटी, एक मार्ग’ योजनाको कार्यान्वयनले एसियामा उर्जा नेटवर्कलाई प्रवद्र्धन गर्ने चीनको बुझाई छ।

डेढ वर्षअघि ‘एक पेटी, एक मार्ग’ को महत्वकांक्षी योजना अगाडि सारेको चीनले यससम्बन्धी रेल, सडक मार्ग लगायतका पूर्वाधार निर्माण गर्न ४० अर्ब डलरको सिल्करोड कोष स्थापना गरेको छ। ‘एक पेटी, एक मार्ग’ योजनामा संलग्न हुन नेपाल तयार भएकाले चीनले भूकम्पपछिको पुनर्निर्माणलाई पनि त्यसैसँग जोडेर योजना तयार गर्न आग्रह गर्दै आएको छ। सिल्करोड पुनरुत्थानमा नेपालको संलग्नताले चीनलाई भूमार्गबाट दक्षिण एसियासँग जोड्ने आशा बेइजिङले राखेको छ।
नागरिकबाट


  •  
  •  
  •