‘चाहिएजति इन्धन दिन चीन तयार’

270
  •  
  •  
  •  

काठमाडौं ३ मंसिर ।
नेपालका लागि आवश्यक पुरै इन्धन बिक्रि गर्न चीन तयार भएको छ । हालै चीन भ्रमणबाट फर्केका आपूर्तिमन्त्री गणेशमान पुनले आवश्यक परे पाइपलाइन समेत बनाउन चीन सरकार सहमत भएको वताएका हुन् । ‘इन्धन ढुवानीबारे व्यापारिक सम्झैतापछि चीनले मागेजति इन्धन दिने आश्वासन दिएको छ । तर, समस्या यातायातको छ,’ अनौपचारिक चीन भ्रमणबाट मंगलबार फर्केका आपूर्तिमन्त्री पुनले भने, ‘समस्या समाधन गर्न पूर्वाधार र पाइपलाइन निर्माणको प्रक्रिया अघि बढाउने छौं ।’

दीर्घकालीन रूपमा समस्या समाधान गर्न पाइपलाइन अत्यावश्यक रहेको उनले बताए । ‘पाइपलाइनबाट इन्धन ढुवानी गर्ने सम्भावना छ । मन्त्रालयको योजना पनि छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा त्यो चाहिन्छ ।’ अनौपचारिक भ्रमणको क्रममा चीन सरकारबीच अनौपचारिक छलफल भएको उनले बताए । ‘छलफलको क्रममा राम्रो वातावरण निर्माण भएको छ,’ मन्त्री पुनले भने । उनका अनुसार चीनबाट पेट्रिल, डिजेल, ग्यासलगायत सबै प्रकारको इन्धन आयात गरिने छ । आयात गर्दा केही कठिनाइ र चुनौती भए पनि इन्धन भित्र्याइने मन्त्रालयको दाबी छ ।

मन्त्रालयका अनुसार व्यावसायिक रूपमा इन्धन ढुवानी प्रक्रिया मिलाउन मन्त्रालय र सरकारी टोली सम्भवत: शुक्रबार चीन प्रस्थान गर्ने मन्त्री पुनले बताए । ‘व्यावसायिक सम्झौताका लागि एउटा टिम छिट्टै जाने छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा भए टोली शुक्रबार जाने छ । त्यसका लागि गृहकार्य भइरहेको छ ।’ टोलीले नाका, मूल्य, परिमाणलगायत विषयमा सम्झौता गर्ने मन्त्रालयले जनाएको छ ।

अनुदानको इन्धन आयात गर्दा बाटो, ट्यांकर र अन्य प्रयोग सकिइसकेकाले अब आयात गर्न कुनै ढिलाइ नहुने जनाएको छ । भारतले नाकाबन्दी गरेर इन्धन आयातमा कडाइ गरेपछि चीनले नेपालका लागि १३ लाख लिटर इन्धन अनुदानमा उपलब्ध गराएको थियो । उक्त इन्धन आयात गरिसके लगत्तै व्यावसायिक कारोबार सुरु गर्ने समझदारी भएकाले अब ढिलाइ नहुने जनाएको छ । निगमले व्यावसायिक इन्धन आयातका लागि गत कात्तिक ११ गते चीन सरकारको स्वामित्वमा रहेको चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना) समझदारी गरिसकेको छ । समझदारीमा निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खडका र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षर गरेका थिए ।

अनुदानको इन्धन अन्तिम लट लोड भएर चीनबाट ट्यांकर हिँडिसकेका निगमले जनाएको छ । चीन स्वामित्वमा पेट्रो चाइनाले निगमलाई सोमबार साँझ इमेलमार्फत पत्राचार गरी सम्झौताका लागि बोलाइसकेको छ । पेट्रो चाइनासँग गरिएको समझदारीअनुसार नेपालको जम्मा खपतको ३३ प्रतिशतसम्म इन्धन आयात गर्न सकिने छ । बाँकी दुई तिहाइ भने भारतबाटै आयात गर्ने निगमको तयारी हो । उक्त आधारमा पेट्रो चाइनाले करिब ३५ देखि ४० अर्ब रुपैयाँ सम्मको कारोबार गर्ने छ ।

मन्त्री पुनका अनुसार अनौपचारिक छलफलका क्रममा चीनको स्थानीय कर मिनाहा गर्न अनुरोध गरेको बताए । कर छुट भए इन्धनको मूल्य भारतसरह हुने उनले बताए । ‘अनौपचारिक रूपमा स्थानीय कर मिनाहा गरिदिन अनुरोध गरेको छु,’ उनले भने, ‘स्थानीय कर मिनाहा भए मूल्य भारतबाटै आयात गरेकै जस्तो पर्छ । बजार मूल्यसरह नै हुन्छ ।’

यस्तै, अर्को विकल्पको खोजीमा निगमका इन्जिनियर तथा परियोजना विभाग प्रमुख वीरेन्द्र गोइत र आपूर्ति तथा वितरण विभागका प्रमुख मुकुन्दप्रसाद घिमिरे बंगलादेश गएका छन् । इन्धन आयातको अध्ययन गर्न दुई–तीनअघि बंगलादेश गएका हुन् । ‘बंगलादेशमा बंगलादेश पेट्रोलियम कर्पोरेसन्ससँग छलफल भएको जानकारी पाएका छौं,’ निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले भने ।

निगमका अनुसार पछिल्लो समय भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले नेपालका लागि इन्धन लोडिङमा केही खुकुलो गरेको छ । पहिले इन्धन भर्न गएका कन्टेनरहरूमध्ये करिब १० प्रतिशत मात्रै लोडिङ दिने गरेको आईओसीले हिजोआज ३०/३५ प्रतिशतसम्म लोड दिने गरेको निगमले जनाएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •