काठमाडौ, २४ भदौ (ओएनएस) : एएफसी यु-१६ फुटबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ । आज थाइल्याण्डको बैंककमा भएको कुवेतविरूद्धको खेलमा नेपाल २-१ गोलअन्तरले विजयी भएको हो ।
२ मिनेटमा नै गोल गरेर १-० गोलअन्तरको अग्रता लिएको थियो । अन्जन बिष्टको प्रहार कुवेतका सबिवको खुट्टामा लागेर आत्मघाती गोल हुन पुगेको थियो । उक्त गोलका लागि बिमल घर्तीमगरले पास मिलाएका थिए । पहिलो हाफमा १-० मा नै सम्पन्न भएपनि आकाश थापाले एम अलसुलालीलाई डिबक्सभित्र लडाएपछि कुवेतले पेनाल्टी पाएको थियो । उक्त अवसरलाई एस अल्बारिकले गोल गर्दै खेललाई बराबरीमा पुर्याए।
खेलको ८१ औ मिनेटमा नेपालले पाएको पेनाल्टीको सदुपयोग गर्दै कप्तान बिमल घर्तीमगरले गोल गरेपछि नेपालको जित सम्भव भएको हो । कुवेती खेलाडीले अन्जन बिष्टलाई डिबक्समा लडाएपछि पेनाल्टी शुटमा बिमलले गोल गरेका थिए ।
यस जितसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनेको छ ।