अभ्यास खेलमा नेपालद्वारा हिमाञ्चल प्रदेश पराजित

104
  •  
  •  
  •  

काठमाडौं,  ३१ जेठ (ओएनएस) :  भारतमा अभ्यास गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले आइतबार भएको अभ्यास खेलमा सफलता हात परेको छ । टी-ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले भारतको हिमाञ्चल प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।

धर्माशाला मैदानमा भएको खेलमा टस जितेको नेपालले पहिले फिल्डीङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको हिमाञ्चले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन जोड्यो । भारतीय क्रिकेट नियन्त्रण बोर्डको आयोजनामा भएको खेलमा हिमाञ्चलका ओपनीङ जोडीले ५९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलायो । हिमालमञ्चलको लागि राघव धवनले ५४ र नकुल राजले २० रन जोडे । यस्तै अभिमन्यु रानाले २१ र कप्तान अमीत कुमारले १९ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने जीतेन्द्र मुखिया र सोमपाल कामीले १–१ विकेट लिए । प्रदीप एेरी र करण केसीले चार -चार ओभर बलिङ गरे पनि विकेट लिन सकेनन् ।

१४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा भेट्टायो । नेपालको जीतमा प्रदिपले नटआउट २३ र शरद भेषावकरले नटआउट १७ रन जोडे । प्रदिपले १२ बल खेल्दा ३ चौका तथा शरदले १३ बल खेल्दा १ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि ‌ओपनर सुवास खकुरेलले २९ र सागर पुनले २३ रनको योगदान गरेका थिए भने उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बटुले । तर कप्तान पारस खड्का र विनोद भण्डारी ७–७ रनको झिनो योगफलमा पेभिलियन फर्के ।

बलिङतर्फ हिमाञ्चलका आकाश शर्माले ३ विकेट लिँदा गुर्विन्दर सिंह र राघव धवनले १–१ विकेट आ–आफ्नो नाममा लेखाए ।


  •  
  •  
  •